क्रिकेटर आदिल अन्सारी सडक दुर्घटनामा घाइते, वीरगञ्जमा उपचार हुँदै

डिसी नेपाल
११ वैशाख २०८३ १५:४३

रौतहट। नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी बारामा भएको मोटरसाइकल दुर्घटनामा परी घाइते भएका छन्। बाराको बम नहर रोड अन्तर्गत थलही पुलमा शुक्रबार उनी सवार मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनालगत्तै मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सरोज कुमार यादव घटनास्थल पुगेर घाइते अन्सारीको उद्धारमा सहयोग गरेका थिए।

एम्बुलेन्स चालक संघ बाराका अध्यक्ष शेख सर्फुदिनका अनुसार अन्सारीलाई तत्कालै उद्धार गरी उपचारका लागि वीरगञ्जस्थित न्युरो अस्पताल पुर्याइएको थियो। अस्पताल भर्ना गरिएका अन्सारीको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको पारिवारिक स्रोतले जनाएको छ। चिकित्सकहरूले उनको स्वास्थ्यको थप परीक्षण गरिरहेका छन्।

दुर्घटना भएको बम नहर रोडका पुलहरू अत्यन्तै जीर्ण र असुरक्षित रहेको स्थानीयले गुनासो गरेका छन्। पुलहरू खुल्ला र मर्मत नहुँदा बारम्बार दुर्घटना हुने गरे पनि सम्बन्धित निकायले ध्यान नदिएको भन्दै स्थानीय आक्रोशित बनेका छन्। यतिबेला सामाजिक सञ्जालमा क्रिकेटर अन्सारीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै खेलप्रेमी तथा शुभेच्छुकहरूले सन्देशहरू लेखिरहेका छन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *