जानकी मन्दिरमा सवा लाख द्विप प्रज्ज्वलन गरिने
जनकपुर। जनकपुरधामको जानकी मन्दिरमा सवा लाख द्विप प्रज्ज्वलन गरिने भएको छ।
जानकी नवमीको उपलक्ष्यमा भोली (शनिबार) बेलुका जानकी मन्दिर प्राङ्गणमा सवा लाख द्विप प्रज्ज्वलन गरिने हिन्दूवादी संगठन जानकी सेनाले जानकारी दिएको छ।
जानकी सेनाको अगुवाईमा विगत पाँच वर्षदेखि जानकी मन्दिरमा विशेष पर्वका बेला द्विप प्रज्ज्वलन गरिँदै आएको छ। द्विप प्रज्ज्वलनमा सम्पूर्ण जनकपुरवासीको सहभागिता हुने गर्छ।
यता, जानकी मन्दिरले भने भोलीको दिन भव्यताका साथ मनाउने मन्दिरका छोटे महन्थ राम रोशन दासले जानकारी दिएका छन्। उनले जनकपुर र नेपाललाई विश्वभरि चिनाउने माता सीताको जन्मोत्सवलाई धुमधामका साथ मनाईने बताए।
उनले भोली बिहान जनकपुरधामको दुधमत्ती नदीमा साही स्नान गरिने कार्यक्रम रहेको बताए। सो पश्चात जानकीजीको डोलासहित विशेष गाजाबाजाका साथ नगरपरिक्रमा गर्ने उनले जानकारी दिए।
जानकी मन्दिरमा विशेष पूजापाठ, मैथिली परम्परा अनुसारका संस्कृतिक कार्यक्रम, नाचगान, महाआरती र महाप्रसादको कार्यक्रम रहेको छोटे महन्थ राम रोशन दासले बताए।
जानकी नवमीको अवसरमा जनकपुरधामवासीले आ–आफ्नो घर आंगनमा दिपावली मनाउने गर्छन्।







डिसी नेपाल







Facebook Comment