दन्त परीक्षण शिविरबाट आठ सय लाभान्वित

डिसी नेपाल
११ वैशाख २०८३ २१:५८

पर्वत। पर्वतको फलेवास नगरपालिका-खानीगाउँमा सञ्चालन भएको पाँच दिने निःशुल्क दन्त परीक्षण शिविर सम्पन्न भएको छ। ग्रामीण भेगका नागरिकलाई लक्षित गर्दै सञ्चालन गरिएको उक्त शिविरमा आठ सय जना दन्तरोगीको निःशुल्क उपचार गरिएको छ।

धुलिखेल अस्पताल तथा काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सको संयुक्त आयोजनामा सञ्चालन भएको शिविरमा ७९१ जनाको उपचार गरिएको हो। दाँत सफा गर्ने, भर्ने, उखेल्ने, चम्काउने, मुख तथा दन्त रोगको परीक्षण र परामर्श लगायतका सम्पूर्ण सेवा निःशुल्क रूपमा प्रदान गरिएको आयोजकले जनाएको छ।

सामान्यतया महँगो पर्ने दन्त उपचार सेवा गाउँमा निःशुल्क पाइएपछि सेवाग्राहीहरू लाभान्वित भएका छन्। शिविरमा विशेषज्ञ डा स्वागत महन्त र नीरज ढ्याकुसहित १७ जनाको स्वास्थ्य टोली खटिएको थियो भने ५० जना दन्तरोगसम्बन्धी अध्ययनरत विद्यार्थीले प्रत्यक्ष रूपमा सेवा प्रदान गरेका थिए।

शिविरमा पर्वत जिल्ला र छिमेकी बागलुङ जिल्लाबाट सर्वसाधारण उपचारका लागि आएका थिए। विशेषगरी दाँत दुख्ने, गिँजासम्बन्धी समस्या, कीरा लाग्ने तथा पुराना दन्त समस्याबाट पीडित नागरिकले शिविरबाट लाभ लिएको धुलिखेल अस्पताल फलेवासले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *