परिवर्तनका लागि अहिलेको पुस्ताले चुनौती बेहोर्नुपर्छ : रवि लामिछाने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभपाति रवि लामिछानेले जनताको विश्वास जित्न सके सरकार सञ्चालन अझ सहज हुने बताएका छन्।
लामिछानेले नेताको रूपमा आफू हरेक नागरिकको घरमा पुग्न नसक्ने भए पनि पार्टीको नीति र सरकारका कार्यक्रम भने जनतासम्म पुग्ने विश्वास व्यक्त गरे। उनले सरकारले जनताका लागि राम्रो काम गर्ने दाबी गर्दै नागरिकमा विश्वास गर्ने वातावरण बन्नु सकारात्मक पक्ष भएको उल्लेख गरे।
उनले भने, ‘नेताको रुपमा म जनताको घरमा पुग्न नसकुला। तर, नीतिका रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीको नीति र वर्तमान सरकारको नीति हरेकको घरमा पुग्ने छ। सरकारले केही न केही गर्छ। जनताको लागि राम्रो पक्कै गर्ने छ सरकारले। सरकारले व्यवस्था गर्छु भनेको छ। हामी विश्वास गरौं न त भन्ने वातावरण बनेको हुन सक्दछ। नागरिकको विश्वास प्राप्त गर्न सक्नु ठूलो कुरा हो।’
उनका अनुसार सरकार बन्नु र ढल्नु सामान्य प्रक्रिया भए पनि जनताको विश्वास प्राप्त गरेको सरकार हुनु महत्वपूर्ण कुरा हो। विगतमा दुईतिहाइ बहुमतका सरकारहरू बने पनि टिक्न नसकेको सन्दर्भ उल्लेख गर्दै उनले विश्वासको आधार बलियो भए शासन सञ्चालन अझ प्रभावकारी हुने बताए।
लामिछानेले परिवर्तनको प्रक्रियामा केही कठिनाइ आउने स्वीकार गर्दै त्यसको दीर्घकालीन लाभ आगामी पुस्ताले पाउने बताए। उनले केवल एक चुनावदेखि अर्को चुनावसम्म मात्र नहेरी पुस्तान्तरणको दृष्टिकोणबाट काम गर्नुपर्नेमा जोड दिए।
उनले भने, ‘सरकार त जहिले पनि बन्छ। दुई तिहाइका सरकार यो भन्दा अगाडि बने ढले पनि। तर जनताको विश्वास भएको सरकार भयो भने झन सहज हुन्छ। परिवर्तन गर्दा अलिकति दुख त हुन्छ। तर त्यसले दिने नतिजा भोलिको पुस्ताले पाउने जुन नतिजा छ। हामीले एउटा चुनावबाट अर्को चुनाव मात्र हेर्ने होइन, हामीले एउटा पुस्ताबाट अर्को पुस्तामा जाने हो। अब आउने पुस्ताले हामीले भोेगेको जस्तो पीडा समस्या भोग्न नपरोस् भन्नका लागि काम गर्दा हाम्रो पुस्ताले थोरै समस्याको सामना गर्नुपर्छ।’







डिसी नेपाल







Facebook Comment