बौद्धनाथमा चलखेल : फ्रि तिब्बत अभियन्तालाई नियुक्ति, चिनियाँ लामालाई कमजोर पार्ने प्रयास

डिसी नेपाल
१५ वैशाख २०८३ १६:४८

काठमाडौं । काठमाडौंको बौद्धनाथ चैत्यको संरक्षण गर्ने नाममा गुठी संस्थानले विवादित व्यक्तिलाई बौद्ध तथा मेलम्ची घ्याङ गुठी व्यवस्थापन समितिको अध्यक्षमा नियुक्त गरेको छ ।

अध्यक्षमा नियुक्त खड्गजित लामा नेपालको आधिकारिक परराष्ट्र नीति ‘एक चीन नीति’ विपरित स्वतन्त्र तिब्बतको वकालत गर्ने, विगतमा झैझगडा र कुटपिटको आरोपमा प्रहरी हिरासतमा पुगिसकेका तथा बौद्धनाथकै सम्पत्ति दुरुपयोग गरेर आर्थिक लाभ लिने व्यक्ति हुन् ।

गुठी संस्थानले अहिले पहिलो पटक व्यवस्थापन समिति बनाएर त्यसका पदाधिकारी नियुक्त गरेको हो । २०३३ सालमै बनेको गुठी संस्थान ऐनमा यस्तो व्यवस्थापन समिति बनाउन सकिने व्यवस्था भए पनि विगत ५० वर्षसम्म यस्तो समिति अस्तित्वमै थिएन । यस्तो समिति बनाउनको लागि निर्देशिका २०८१ सालमा मात्रै बनाइएको थियो र गुठी संस्थानले गत वर्ष मात्रै समिति बनाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार अहिले समिति बनाइएको हो ।

बौद्ध तथा मेलम्ची घ्याङ गुठी राजगुठी भित्र छुट गुठीमा संचालन भैरहेको गुठी हो । ‘बौद्ध घ्याङ गुम्बाका नित्य, नैमित्य, पूजा र घ्याङको सदावर्त तेरा सन्तान दर सन्तानले चलाउनु’ भनी चिनियाँ लामालाई १९३६ सालमा खडा भएको लालमोहर समेतबाट बौद्धनाथ सहित मेलम्ची घ्याङ गुठीको चिनिया लामा पदमा नियुक्ति हुने व्यक्तिले सो गुठीको लाल मोहर बमोजिम नित्य, नैमित्य, पूजा, आजा र घ्याङको सदावर्त चलाउने व्यवस्था बमोजिम उक्त गुठीको गुठीयार र पुजारीको रुपमा चिनियाँ लामाले काम गर्दै आएका छन् । हालसम्म यो गुठीको प्रमुख चिनियाँ लामाले नै आन्तरिक समिति बनाएर गुठीको सबै काम गर्दै आएका छन् ।

गुठी संस्थानले यो समिति गठनको उद्देश्य धार्मिक स्थलको संरक्षण गर्ने बताए पनि त्यसको पछाडि चिनियाँ लामालाई कमजोर पार्ने रणनीति रहेको सरोकारवाला बताउँछन् । स्रोतका अनुसार हालका चिनियाँ लामा भूपतिबज्र लामाले गुठीको प्रमुख नियुक्त भएदेखि नै गुठीको सम्पत्ति र अतिक्रमित जग्गाको खोजी गर्न थालेका थिए । त्यसपछि नै बौद्धको सम्पत्ति दुरुपयोग गर्नेहरु उनलाई कमजोर पार्ने चलखेलमा लागेका थिए ।

हालका चिनियाँ लामा भूपति बज्रले बौद्धको जग्गा हिनामिना गरेको आरोप लगाउँदै आफूभन्दा पहिलेका चिनियाँ लामासहित अन्य केही व्यक्तिहरुको नामै किटेर अख्तियारमा उजुरी दिएका छन् । त्यस विषयमा छानबिन भइरहेको छ ।

केही महिनाअघि बौद्धनाथ क्षेत्र विकास समितिले समेत बौद्धनाथ मुख्य चेत्यसहितको सबै जग्गा नेपाल सरकारको नाममा लैजान खोजेको थियो । तर, चिनियाँ लामाले मालपोतको पुरानो रेकर्ड खोजी गरेपछि त्यो जग्गा बौद्ध तथा मेलम्ची घ्याङ गुठीकै नाममा भएको खुलासा भएको थियो । उनले अतिक्रमण रोक्न र पहिले भएको अतिक्रमण पनि खोजी गर्न थालेपछि लाभ लिइरहेकाहरु उनीविरुद्ध उत्रिएको स्रोत बताउँछ ।

हाल व्यवस्थापन समितिको अध्यक्ष नियुक्त भएका खड्गजित लामा चिनियाँ लामालाई कमजोर पार्न अघि सारिएका पात्र भएको बताइन्छ । उनको पृष्ठभूमि पनि विवादित छ । विगतमा उनी अध्यक्ष भएको बौद्ध तामाङ कल्याण गुठीले (नाम गुठी भए पनि यो गुठी नभइ एनजीओ हो) नेपालका बौद्धमार्गीहरुलाई २०७३ साल पौष १९ देखि माघ २ सम्म भारतको बोधगयामा दलाई लामाको कार्यक्रममा सहभागी गराएका थिए । दलाइ लामालाई नेपाल सरकारले समर्थन गर्दैन । उनी स्वतन्त्र तिब्बत पक्षधर हुन् जुन नेपालले मान्ने एक चीन नीति विपरित छ ।

उनी अध्यक्ष भएकै बेला बौद्ध तामाङ्ग कल्याण गुठी समेतले बौद्धनाथ स्तुपा भित्र अनाधिकृत संरचना ( दियो बाल्ने घर) बनाएको थियो । एनजीओले उक्त घरमा बक्ति बाल्नको लागि शुल्क लिन्छ जुन दैनिक लाखौं उठ्ने गरेको बताइन्छ । उक्त घरमा आगलागी समेत भएको र आत्मदाह समेतको प्रयास भएपछि पुरातत्व विभागले २०७६ मै यसलाई अविलम्ब हटाउन निर्देशन दिएको थियो । तर अहिलेसम्म त्यो संरचना हटाइएको छैन ।

२०७६ मै खड्गजित लामाले बौद्धनाथ तथा बौद्ध तथा मेलम्ची घ्याङ गुठीको परिसरमा कुटपिट गरि आपराधिक उपद्रव गरेको भन्दै प्रहरीमा उजुरी परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । पछि उनले गल्ती स्वीकार गरेपछि महानगरीय प्रहरी वृत, बौद्धमा तत्कालीन प्रदेश सभा सदस्य छिरिङ दोर्जे लामा समेतको रोहबरमा मिलापत्र भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *