विराटनगरमा बैशाख २१ गते महिला नेतृत्व शिखर सम्मेलन हुँदै, तयारी पूरा

डिसी नेपाल
१७ वैशाख २०८३ १८:५३

काठमाडौं। नेपाल उद्योग परिसंघले कोशी प्रदेशको विराटनगरमा बैशाख २१ गते राष्ट्रिय स्तरको महिला नेतृत्व शिखर सम्मेलन आयोजना गर्ने भएको छ। बिहीबार पत्रकार प्रेसमिटमार्फत सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको परिसंघले जनाएको हो।

परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले नेपालको आर्थिक विकासलाई तीव्र बनाउन महिला सहभागिता अनिवार्य रहेको बताएका छन्। उनले हालको करिब ४५ अर्ब डलरको अर्थतन्त्रलाई १०० अर्ब डलरमा विस्तार गर्न श्रमशक्ति, मानव पूँजी, भौतिक पूँजी र कुल उत्पादकत्व (टोटल फ्याक्टर प्रोडक्टिभिटी) मा उल्लेखनीय सुधार आवश्यक रहेको बताए।

उनका अनुसार औसत ६ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न श्रमशक्तिको दायरा विस्तार गर्नुपर्नेछ, जसका लागि वैदेशिक रोजगारीबाट फर्किएका कामदारसँगै महिलाहरूको सक्रिय सहभागिता अत्यन्त महत्वपूर्ण हुन्छ। ‘महिलाको श्रम सहभागिता, नेतृत्व विकास र उद्यमशीलता प्रवद्र्धन नगरी दिगो आर्थिक विकास सम्भव हुँदैन,’ उनले भने।

सीएनआईले कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र विराटनगर महानगरपालिकासँगको सहकार्यमा सम्मेलन आयोजना गर्न लागेको हो। सम्मेलनको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की ले गर्ने कार्यक्रम रहेको छ।

‘दिगो समृद्धितर्फ कृषि, सीप, सिर्जनशीलता र डिजिटल नवप्रवर्तन’ भन्ने मुख्य विषयवस्तु रहेको सम्मेलनमा महिला नेतृत्व विकास, क्षमता अभिवृद्धि, उद्यमशीलता प्रवद्र्धन तथा स्थानीय स्रोत–साधनको अधिकतम उपयोगबारे व्यापक छलफल हुने आयोजकले जनाएको छ।

कार्यक्रममा कृषि, सीप र नवप्रवर्तनसँग सम्बन्धित विषयहरूलाई प्राथमिकता दिइनेछ भने डिजिटल प्रविधिको प्रयोगमार्फत व्यवसाय विस्तार र बजार पहुँच बढाउने उपायबारे पनि विमर्श गरिनेछ।

सम्मेलनका प्रमुख आकर्षणहरूमा महिला उद्यमीहरूको प्रेरणादायी सफलताका कथाहरू, डिजिटल भुक्तानी प्रणाली (फोनपे लगायत) सम्बन्धी अन्तरक्रिया, स्वदेशी उत्पादनको प्रदर्शनी तथा उद्यमी, नीति निर्माता, निजी क्षेत्र र विकास साझेदारबीच नेटवर्किङ कार्यक्रम रहेका छन्।
यसले कोशी प्रदेशसहित देशभरका महिला उद्यमी, वित्तीय संस्था, नीति निर्माता तथा व्यवसायीहरूलाई एकै ठाउँमा ल्याई सहकार्य र अनुभव आदानप्रदानको अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तथा सीएनआई वुमन लिडरसिप फोरमकी सदस्य बिदुषी राणाले फोरमले प्रत्येक वर्ष महिला नेतृत्व सम्बन्धी सम्मेलन आयोजना गर्दै आएको जानकारी दिइन्।

उनका अनुसार एक वर्ष काठमाडौंमा अन्तर्राष्ट्रिय स्तरको सम्मेलन र अर्को वर्ष प्रदेशस्तरमा राष्ट्रिय सम्मेलन आयोजना गर्ने परम्परा अनुसार यसपटक विराटनगरमा कार्यक्रम गर्न लागिएको हो।

यसअघि २०२३ र २०२५ मा काठमाडौंमा अन्तर्राष्ट्रिय सम्मेलन तथा २०२४ मा चितवनमा राष्ट्रिय सम्मेलन सफलतापूर्वक सम्पन्न भइसकेका छन्।
सम्मेलनले महिला उद्यमशीलता प्रवद्र्धन, दिगो व्यवसायिक अवसर सिर्जना, नवप्रवर्तन विस्तार तथा कृषि, सीप र सिर्जनशीलतामार्फत मूल्य शृंखला विकासमा योगदान पुर्याउने लक्ष्य राखेको छ।

आयोजकका अनुसार यस कार्यक्रमले महिला नेतृत्वलाई सशक्त बनाउँदै समावेशी आर्थिक वृद्धि र दिगो समृद्धिको आधार निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *