‘काजी’को प्रेम कथाको चर्चा आगामी धेरै वर्षसम्म हुनेछ : विपिन कार्की

डिसी नेपाल
१८ वैशाख २०८३ १४:३४

काठमाडौं । अभिनेता विपिन कार्कीले आफ्नो आगामी फिल्म ‘काजी’ प्रेमिल जोडीको कथा रहेको बताएका छन्। आगामी जेठ ८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘काजी’ को पहिलो गीत ‘वारी वर पारी पिपलु’ सार्वजनिक गर्न आयोजित कार्यक्रममा अभिनेता कार्कीले आफ्नो पात्र परम्परागत काजी जस्तो नरहेको बताए।

उनले भने, ‘हामीले काजी भन्ने बितिकै मुखिया, गाउँको ठूलाबडा भन्ने बुझ्छौ, तर मैले निर्वाह गरेको पात्र मायालु काजी हो। काजी परिवारको भएकाले मेरो पात्रलाई काजी भनिएको हो, तर यो प्रेममा काजीपन देखाउने पात्र हो। यो प्रेमिल जोडीको कथा हो।’

अभिनेता कार्कीले ‘काजी’ मा देखाईएको प्रेम कथा ‘रोमियो जुलियट’, ‘मुना मदन’ जस्तै आगामी धेरै वर्षसम्म सम्झिने प्रेम कथानक बन्ने विश्वास व्यक्त गरे। उनले फिल्मको कथावस्तु, निर्देशकीय पक्ष, छायांकन पक्ष, आर्ट डिपार्टको प्रशंसा गरे। अभिनेत्री केकी अधिकारी र गरिमा शर्माले फिल्मको कथाको प्रशंसा गरे। लक्ष्मण रिजालको निर्देशनमा निर्माण भएको फिल्म ‘काजी’ मा ग्रामिण पृष्ठभूमिमा तयार गरिएको प्रेमकथा देखाएइको छ।

‘यो अलिक समय अगाडिकको ग्रामिण भेगमा बस्ने एउटा जोडीको प्रेम कथा हो। यसले हामीलाई हाम्रो बाल्यकाल वा त्यो भन्दा अगाडिको समयको निस्वार्थ प्रेमसँग परिचित गराउँछ। यो फिल्मले प्रेमको नयाँ कथ्यशैलीको सुरुआत गर्नेछ भन्ने लागेको छ’, निर्देशक रिजालले भने।

रिजाल एन्ड रिजाल प्रोडक्सनको प्रस्तुति रहेको फिल्मका प्रस्तुतकर्ता रामप्रसाद रिजाल हुन्। फिल्ममा विपिन कार्की, केकी अधिकारी, गरिमा शर्मा, हेमन्त बुढाथोकी, प्रकाश घिमिरे, विशाल पहारी, हिउँवाला गौतम, अनुराग कुँवर, सन्दीप बाबु लोहानी, विनोद न्यौपाने, रश्मि भट्ट, प्रीतिका शर्मा, प्रशंसा सुबेदी, नवराज गिरी तथा बाल कलाकार दीक्षित अर्याल, आरव बराल र सुपला सापकोटालगायतको अभिनय रहेको छ।

प्रदीप भारद्वाजको कथा/पटकथा रहेको फिल्मको छायांकन चिन्तन राजभण्डारीले गरेका हुन्। फिल्ममा कालीप्रसाद बास्कोटाको संगीत, ओजस्वी ओझाको प्रोडक्सन डिजाइन, श्याम कुँवरको रङ संयोजन, सुजिल कर्माचार्यको पृष्ठभूमि संगीत, कविराज गहतराजको नृत्य निर्देशन रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *