विष्णुमति करिडोरमा डोजर अभियान जारी, सयौं अवैध संरचना हटाइँदै

डिसी नेपाल
१९ वैशाख २०८३ १४:४२

काठमाडौं। विष्णुमति करिडोर क्षेत्रको सुकुमबासी बस्तीमा शनिबार डोजर चलाउने अभियान तीव्र बनाइएको छ। बालाजु पुलदेखि नयाँ बसपार्कसम्म करिडोर आसपासका टहरा मात्र होइन, पक्की घरहरूमा समेत सरकारले डोजर चलाइरहेको छ।

अभियानका क्रममा महानगर प्रहरी, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको उल्लेख्य उपस्थिति रहेको छ। काठमाडौं महानगरपालिका नगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीका अनुसार आजको लक्ष्य बालाजु चोकदेखि तार्केश्वरस्थित गुम्बासम्मको क्षेत्र खाली गराउने रहेको छ। उक्त क्षेत्रमा करिब २२१ वटा अवैध संरचना रहेको जानकारी महानगरसँग छ।

उनले स्वयम्भू क्षेत्रमा रहेका करिब ४० वटा अवैध संरचना हटाइसकिएको र काठमाडौं महानगरपालिका–१० देवीनगर क्षेत्रमा थप ४६ वटा घर हटाउने योजना रहेको बताए। यी तीन स्थानलाई आजै खाली गराउने लक्ष्य रहेको उनको भनाइ छ।

उनले भने, ‘आज बालाजु चोक देखि तार्केश्वरको गुम्बासम्म अन्तिम लक्ष्य बनेको छ। यसमा बालाजु चोक देखि गुम्बा आसपाससम्म लगभग २२१ वटा अवैध भवनहरु र घरहरु रहेको हामीलाई जानकारी आएको छ। त्यसपछि स्वयम्भूमा ४० वटा छ, त्यहा सकिसकेको छ। त्यसपछि कामनपा १० देवीनगरमा ४६ वटा अवैध घरहरु छन् यो सम्म तीन वटा ठाउँहरु खाली गर्ने आजको लक्ष्य हो।’

जोशीका अनुसार जिल्ला प्रशासन कार्यालयको निर्देशनअनुसार नै अभियान सञ्चालन भइरहेको छ। ‘खोला किनारामा रहेका विद्यालय, मन्दिर, गुम्बा र चर्चसमेत हटाइएका छन्। सर्वसाधारणको हटाउने, पहुँच भएकाको नहटाउने भन्ने हुँदैन, सबैलाई समान रूपमा लागू हुन्छ,’ उनले भने।

उनले पहिलो चरणमा खोला किनाराका अवैध बस्तीलाई प्राथमिकतामा राखिएको र आगामी कदम जिल्ला प्रशासन कार्यालयको निर्देशनअनुसार अघि बढाइने बताए।

‘जिल्ला प्रशासन कार्यलयको निर्देशनबाट काम भइरहेको भएर पहिलो चरणमा खोला किनारामा रहेको अवैध बस्तीहरु पहिलो टार्गेटमा रहन्छ। त्यसपछि जिल्ला प्रशासन कार्यलयबाट जे निर्देशन आउछ सो बमोजिम हुन्छ,’ उनले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *