उपत्यकाका मसाज सेन्टरमा प्रहरीको छापा: २५८ जना नियन्त्रणमा

डिसी नेपाल
२० वैशाख २०८३ २०:२७

काठमाडौं। काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सञ्चालित मसाज सेन्टरहरूमा प्रहरीले छापा मारी ठूलो संख्यामा महिला तथा पुरुषहरूलाई नियन्त्रणमा लिएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले ठमेल, बौद्ध र ललितपुरका विभिन्न ठाउँहरूमा चलाएको अपरेसनका क्रममा उनीहरू पक्राउ परेका हुन्।

प्रहरीका अनुसार उक्त क्षेत्रहरूमा सञ्चालित मसाज सेन्टरहरूबाट कुल २५८ जनालाई नियन्त्रणमा लिइएको छ। पक्राउ पर्नेहरूमा २४० जना महिला र १८ जना पुरुष रहेका छन्। मसाज सेन्टरका नाममा अनैतिक वा गैरकानुनी गतिविधि भइरहेको सूचनाका आधारमा प्रहरीले यी स्थानहरूमा छापा मारेको बुझिएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रामेश्वर केसीले पक्राउ परेका सबैमाथि सूक्ष्म अनुसन्धान भइरहेको जानकारी दिए। उनका अनुसार नियन्त्रणमा लिइएका व्यक्तिहरूमध्ये को-को विरुद्ध मुद्दा चलाउने र कसलाई छाड्ने भन्ने विषयमा आवश्यक छानबिन र प्रमाण संकलनको काम भइरहेको छ।

प्रहरीले पछिल्लो समय मसाज सेन्टर र स्पाका नाममा हुने गरेका शंकास्पद गतिविधिमाथि निगरानी बढाएको छ। यसअघि पनि विभिन्न समयमा यस्ता केन्द्रहरूमा छापा मारी प्रहरीले कानुनी कारबाही अगाडि बढाउँदै आएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *