सिमसार संरक्षण गर्दै फाकफोकथुम गाउँपालिका

डिसी नेपाल
२० वैशाख २०८३ २१:५५

इलाम । फाकफोकथुम गाउँपालिकाभित्र पानीका तीन ठूल–ठूला मुहान् छन्। वडा नं १ पञ्चमीस्थित पाण्डव धारा, पचेवा मुहान र वडा नं ५ लुम्देमा रहेको जलकन्या यहाँका प्रमुख पानीका स्रोत हुन्।

मुख्य तीन मुहानसहित बागमती सिमसार, ढापसीम पोखरी, लुम्देपोखरी, उत्तरेपोखरी, दारीपाले पोखरीलगायत सिमसार क्षेत्र संरक्षण गर्न गाउँपालिकाले रु एक करोडभन्दा बढी बजेट खर्चेको छ। सिमसार संरक्षणमा कोशी प्रदेश सरकार र स्थानीयको लगानी छ।

पालिकाले चार वर्षअघि रु १० लाख लगानी गरेर वडा नं ६ हाङवाचुलीमा ढापसीम पोखरी संरक्षण सुरु गरेको हो। यसका लागि कोशी प्रदेश सरकारले रु १५ लाख विनियोजन गरेको थियो। पोखरी विस्तार हुने क्षेत्रको २७ रोपनी जग्गा स्थानीयले निःशुल्क प्रदान गरेका छन्।

अहिले पोखरीमा बाँध निर्माण गरिएको छ। पोखरी वरिपरिको सडक र विश्रामस्थल निर्माण भइसकेका छन्। पोखरी विस्तार गरी डुङ्गा सञ्चालन गर्ने र आन्तरिक पर्यटकलाई थप आकर्षित गर्न बगैँचा निर्माण, सुरक्षाका लागि रेलिङ निर्माण लगायतका काम गर्ने सोच रहेको स्थानीय भीम श्रेष्ठले बताए।

वडा नम्बर ५ को लुम्देमा पोखरी बनाउन ३३ रोपनी जग्गा खरिद गरिएको छ। दुई वर्षअघि पोखरीसम्म बाटो बनाउन गाउँपालिकाले रु ३० लाख खर्च गरेको थियो। हाल पोखरीको मुहान संरक्षण गर्ने कार्य सकिएको छ। बाँकी काम गर्न प्रदेश सरकारसँग बजेट माग गरिएको गाउँपालिकाका अध्यक्ष दीपेन्द्र खनालले बताए।

“तेत्तीस रोपनी जग्गा वडाको नाममा किनेका छौँ। सरकारी र किनेको गरेर ४५ रोपनी बढी क्षेत्रफलमा पोखरी छ”, अध्यक्ष खनालले भने, “सीमसार संरक्षण गर्न अभियान चलाएका हौँ। व्यक्ति व्यक्तिले जनही रु २० हजार उठाएर जग्गा किनेका छौँ।”

इलाममा पानीका स्रोत सुक्दैछन्। अहिले संरक्षण नगरे भविष्यमा सुक्खा क्षेत्र हुने जोखिम भएकाले लगानी बढाइएको अध्यक्ष खनालको भनाइ छ। “हाम्रो अभियान सिमसार संरक्षण गर्नु हो। यसमा प्रदेश सरकारको साथ छ। स्थानीय आफैँ जुटेका छन्”, उनले भने।

वडा नं ६ स्थित बागमती सिमसार र ढापसीम पोखरी संरक्षण भइरहेको छ। फाकफोकथुम–१ र पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालीकाको सीमा क्षेत्रमा उत्तरे पोखरी छ। उक्त पोखरीको संरक्षण फाकफोकथुमले कम फाल्गुनन्दले बढी गरिरहेको छ। तर, पोखरी दुवै पालिकाको सीमामा पर्छ। फाकफोकथुमले दारीपाले पोखरीको संरक्षण भर्खरै सुरु गरेको छ।

वातावरण संरक्षण गर्दै पर्यटकीय गतिविधि बढाउने उद्देश्यले पश्चिमी इलामको फाकफोकथुम गाउँपालिका सिमसार क्षेत्र संरक्षण गर्न जुटेको हो। यहाँ पर्याप्त पानीको स्रोत भएको र प्राकृतिक हिसाबले रमणीय ठाउँहरु रहेकाले ग्रामीण पर्यटन विकासको राम्रो सम्भावना रहेको त्यहाँ घुम्न गएकी गायत्री थेगिमले बताइन्।

“रमणीय डाँडाकाँडा, पोखरी, चियाबारी लगायतले फाकफोकथुम पुग्ने जो कोहीका लागि मनमोहक लाग्छ। आजभोलि पोखरी क्षेत्रमा रमाउन पर्यटकको सङ्ख्या दिनहुँ बढ्न थालेको छ”, थेगीमले भने।

मेची राजमार्गको राँकेबाट करिब आठ किलोमिटर दूरीमा रहेको हाङवाचुली पुग्न सडक पक्की बन्ने क्रममा छ। फाकफोकथुम गाउँपालिका इलाम सदरमुकामदेखि ६० किलोमिटर पश्चिममा पर्छ।

करिब २० हजार हाराहारी जनसङ्ख्या रहेको उक्त पालिकामा लिम्बू जातिको प्रमुख बसोबास छ। फाकफोकथुम जडिबुटी तथा कृषि उपज उत्पादनको उर्बर भूमि हो। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *