ढोलझ्याम्टाको ताल र साकेला गीतले गुञ्जयमान गाउँबस्ती

डिसी नेपाल
२० वैशाख २०८३ २२:३३

खोटाङ। किरात समुदायको चाड ‘साकेला उँभौली’ यही वैशाख १८ गतेदेखि देश तथा विदेशमा एकसाथ सुरु भएको छ। माझकिरात भनेर चिनिने खोटाङका किरात समुदायले वैशाख पूर्णिमादेखि महिना दिनसम्म साकेला उँभौली चाड हर्षाेउल्लासका साथ मनाउने गर्छन्।

साकेला उँभौली चाडको अवसर पारेर किरात समुदायले आफ्नो समुदायको ऐतिहासिकतासँग जोडिएका ठाउँ तथा पर्यटकीयस्थलमा पूजाआजासहित साकेला सिली प्रदर्शन गरिरहेका छन्।

किरात समुदायको उद्गमस्थल मानिने हलेसी तुवाचुङ नगरपालिकाको तुवाचुङ–जायाजुङका साथै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मझुवागढी, रुपाकोटगढी, पञ्चदोबाटो र मेरुङ, जन्तेढुङ्गाको गाउँपालिकाको जन्तेढुङ्गा र छोङ्खा, खोटेहाङ गाउँपालिकाको कपासेभञ्ज्याङ, रोक्सिमभञ्ज्याङलगायत साकेला थानमा पूजाआजासँगै बृहत् साकेल सिली प्रदर्शन गर्ने चलन छ।

साकेला उँभौली चाडको पहिलो दिन जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार नजिकै रहेको किरात ऐतिहासिकस्थल मझुवागढी तथा बुइपास्थित यलम्बर पार्क (उद्यान) मा साकेला सिली प्रदर्शन कार्यक्रम अयोजना गरिएको थियो। बुइपास्थित पञ्चदोबाटोमा स्थापना गरिएको प्रथम किराती राजा यलम्बरको ११० फिट अग्लो शालिकसहितको उद्यानमा पहिलो पटक साकेला सिली प्रदर्शन गरिएको हो।

किरात ऐतिहासिकस्थल पञ्चदोबाटोमा निर्माण गरिएको यलम्बर उद्यानमा आयोजना गरिएको साकेला सिली प्रदर्शनीमा युवायुवतीको उल्लेख्य सहभागिता रहेको थियो। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज राई (हर्क साम्पाङ)को प्रमुख आतिथ्यतामा भएको साकेला सिली प्रदर्शनीमा हजारौँको सहभागिता रहेको थियो।

किरात समुदायले वर्षको दुईपटक मनाउने साकेला चाडअन्तर्गत उँभौलीमा ‘अन्नबाली सप्रियोस्, रोगव्याधी नलागोस् र प्राकृतिक विपत्ति नआओस्’ भन्ने कामनाका साथ प्रकृतिको पूजा गर्ने चलन छ। भूमि तथा तीन चुल्हाको पूजामा कुखुराको भाले, चोखो जाँड, रक्सी, अदुवा, पहेँलो रङले रङ्ग्याएको चामल प्रयोग गरिन्छ।

उँभौली र उँधौलीमा किरात राईका प्रत्येक घरमा तीन चुल्हा पुज्नुका साथै साकेला थानमा भूमिको पूजाआजा गरेपछि साकेला गीतको भाका तथा ढोल र झ्याम्टाको तालमा सिली टिप्दै गोलो घेरा हालेर साकेला नाच्ने गरिन्छ। उँभौलीको अवसर पारेर आयोजना गरिने साकेला सिली प्रदर्शनीका कारण जिल्लाका किरात गाउँबस्ती अहिले ढोलझ्याम्टा र साकेला गीतले गुञ्जयमान बनेका छन्।

छितको गुन्यू, मखमलको चोली, पहेँलो पटुकी, दौरासुरुवाल, ढाका टोपीलगायत किराती मौलिक वेषभूषामा सजिएर हरेक किरात राईहरुको घरघरमा नाच्दै तथा साकेला गीत गाउँदै हर्षोल्लासका साथ मनाइने यो चाडमा किरात समुदायमात्र नभई गैरकिरात समुदायका युवायुवतीसमेत सहभागी भएर साकेला सिली नाच्ने गरेका छन्। चराचुरुङ्गी तथा जीवजन्तुको नक्कल गर्दै ढोलरझ्याम्टाको तालमा सुम्निमा र पारुहाङ (किराती पुर्खाहरू)ले सम्पूर्ण सृष्टिजगतको रक्षा गरून् भन्ने कामनाका साथ साकेला चाड मनाउने गरिएको छ।

उँभौली र उँधौलीको अवसरमा किरात समुदायले मात्र नभई सबै जातजाति तथा धर्मका समुदायले साकेला सिली नाच्ने भएकाले जातीय सहिष्णुता, एकता र भाइचाराको विकास गर्ने एउटा समृद्ध संस्कृतिका रूपमा विकास भएको किरात राई यायोक्खा खोटाङका जिल्ला अध्यक्ष युगशन किरातले बताए।

“साकेला चाडमा विशेष गरी प्रकृति र पितृको पूजा गर्दै आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ। यो चाडलाई किरात समुदायले विशेष चाडको रुपमा मनाउँछन्”, उनले भने, “साकेला चाडले जातीय, धार्मिक तथा सांस्कृतिक सद्भाव, आपसी मेलमिलाप कायम गर्दै द्वन्द्वलाई निरुत्साहित गर्न भूमिका खेल्ने गरेको छ। पछिल्लो समय साकेला चाड सबैको साझा चाड बन्दै भएको छ।”

साकेला उँभौली चाड पूर्वी नेपालको खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बू, सङ्खुवासभा, सुनसरी, इलाम, पाँचथर, झापा, मोरङलगायत किरात समुदायको बसोबास रहेको ठाउँमा साकेला नाच नाच्दै धुमधामका साथ मनाउने गरिएको छ। अन्नबाली लगाउने समय अर्थात् वैशाख पूर्णीदेखि उँभौली र अन्न भित्र्याउने बेला अर्थात् मङ्सिरे पूर्णिमादेखि उधौली चाड मनाउने चलन छ।

साकेला चाडको अवसर पारेर पराइघर गएका छोरीचेलीहरु माइतीघर आउने र सुखदुःखका कुरा साटासाट गर्दै आपसमा शुभकामना आदानप्रदान गर्ने चलनसमेत रहेको दिक्तेल रुपकोट मझुवागढी नगरपालिका–११ खार्मीका दिलकुमार राईले जानकारी दिए। यो चाडमा रोजगारी तथा अध्ययनको सिलसिलामा सहर बजारमा बसोबास गर्दै आएका आफन्तहरुसमेत पुख्र्याैली घर फर्किएर साकेला मनाउने गर्छन्।

हुल (समूह) मा नाचिने साकेला सिली टोलीलाई टोलटोलमा किराती मिष्टान्न परिकारसहित स्वागत तथा सत्कार गर्ने चलन छ। साकेला उँभौली र उधौली चाड किरात राई, लिम्बू, याक्खा र सुनुवार समुदायले मुख्य चाडका रुपमा उँभौली महिना दिन तथा उधौलीमा १५ दिनसम्म मान्ने गरेका छन्। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *