जेठ १० गते सबैले यार्सागुम्बा सङ्कलन गर्न पाउने

डिसी नेपाल
२२ वैशाख २०८३ १८:२२

काँक्रेविहार (सुर्खेत) । आगामी जेठ १० गते डोल्पाका विभिन्न पाटन यार्सागुम्बा सङ्कलनका लागि खुला गरिने भएको छ।

आज बसेको सर्वपक्षीय सर्वदलीय बैठकले उक्त मितिमा सबै पाटन यार्सागुम्बा सङ्कलनका लागि खुला गर्ने निर्णय भएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका निमित्त कार्यालय प्रमुख विज्ञान सेनले जानकारी दिए।

यार्सागुम्बा सङ्कलनका लागि शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज क्षेत्र र डिभिजन वनको क्षेत्रमा पर्ने सम्पूर्ण पाटन आम सर्वसाधारणका लागि खुला हुने भएको हो। यार्सा टिप्न पाटन जानेहरूका लागि तीन प्रकारका प्रवेश अनुमतिपत्रको व्यवस्था गरिएको छ।

निकुञ्जभित्रका मध्यवर्ती क्षेत्रभित्रका बासिन्दालाई ५०० (क) वर्ग’, डोल्पा जिल्लाभित्रका नागरिकलाई दुई हजार (ख) वर्ग र जिल्ला बाहिरकालाई तीन हजार (ग) वर्ग शुल्क निकुञ्जले निर्धारण गरेको छ।

मध्यवर्ती क्षेत्र र जिल्लाभित्रका बासिन्दालाई प्रवेश शुल्कका लागि अनिवार्य परिचयपत्र देखाउनुपर्नेछ। यदि नदेखाएमा (ग) वर्ग कै प्रवेश शुल्क काटिनेछ। यार्सागुम्बा सङ्कलनका लागि जेठ ५, ६ र ७ गते सम्बन्धित पाटनका क्षेत्रमा प्रवेशका लागि प्रवेश शुल्क बुझाई सक्नुपर्नेछ। यार्सापाटनमा १६ वर्षभन्दा तलका बालबालिकालाई प्रवेशमा निषेध गरिने निकुञ्जले जानकारी दिएको छ।

यार्सा सङ्कलनका लागि डोल्पा, जाजरकोट, रुकुम पश्चिमलगायत क्षेत्रहरूबाट अधिकांश मानिस घर नै खाली गरेर हिमाली जिल्ला डोल्पाका उच्च पटनहरूमा जाने गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *