गोकुल बास्कोटाको प्रस्ताव: प्रदेश संरचना र समानुपातिक प्रणाली खारेज
काठमाडौं। नेकपा एमालेका प्रभावशाली नेता गोकुल बास्कोटाले संविधान संशोधनको विषयलाई लिएर नयाँ र कडा बहसको थालनी गरेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता बास्कोटाले विगतमा संघीयता खारेजीको वकालत गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई अब संविधान संशोधनको पक्षमा दृढतापूर्वक उभिने कि नउभिने भन्दै प्रश्नसमेत गरेका छन्।
यदि वास्तवमै संविधान संशोधन गर्ने हो भने राज्यको शासकीय स्वरूप र निर्वाचन प्रणालीमा आमूल परिवर्तन हुनुपर्ने भन्दै उनले आफ्ना स्पष्ट खाकाहरू अघि सारेका हुन्।
बास्कोटाले प्रशासनिक बोझ र खर्चिलो संरचनालाई घटाउन प्रदेश तहको पूर्ण अन्त्यको प्रस्ताव गरेका छन्। देशमा केन्द्र र स्थानीय तह (पालिका) गरी दुई तहको मात्र सरकार हुनुपर्ने र पालिकालाई थप अधिकारसहित बलियो बनाउनुपर्ने उनको जिकिर छ।
यसका साथै जिल्ला समन्वय समितिको कुनै औचित्य नरहेको भन्दै उनले यसलाई पनि खारेज गर्नुपर्ने बताएका छन्। व्यवस्थापिकाको संरचनामा पनि ठुलो फेरबदलको वकालत गर्दै उनले राष्ट्रिय सभाको सदस्य संख्या १०५ बनाउनुपर्ने र त्यसमा महिला तथा पुरुषको ५०-५० प्रतिशत अनिवार्य प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने धारणा राखेका छन्। नयाँ व्यवस्थामा उपराष्ट्रपति नै राष्ट्रिय सभाको सभाध्यक्ष बन्ने कानुनी प्रबन्ध मिलाउनुपर्ने उनको अर्को महत्त्वपूर्ण सुझाव छ।
प्रतिनिधिसभाको हकमा भने बास्कोटाले हाल कायम रहेको समानुपातिक निर्वाचन प्रणालीलाई पूर्ण रूपमा खारेज गरी प्रत्यक्ष निर्वाचन मात्र गराउनुपर्ने माग गरेका छन्। समानुपातिक प्रणालीले विकृति ल्याएको संकेत गर्दै उनले अब प्रत्यक्ष निर्वाचनमै ४० प्रतिशत महिला र ६० प्रतिशत पुरुष उम्मेदवार उठ्ने गरी कानुनी सुनिश्चितता गर्नुपर्ने मत राखेका छन्।
निर्वाचन प्रणाली र शासकीय स्वरूपमा यस्तो परिवर्तनले मात्र देशमा राजनीतिक स्थिरता र प्रशासनिक सुशासन कायम हुने बास्कोटाको विश्लेषण रहेको छ।







डिसी नेपाल







Facebook Comment