आठवटा विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

डिसी नेपाल
२५ वैशाख २०८३ ९:०९

काठमाडौं । सरकारले रिक्त रहेका तथा रिक्त हुने क्रममा रहेका मुलुकका विभिन्न आठवटा विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि प्रक्रिया अगाडि बढाउँदै दरखास्त आह्वान गरेको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको उपकुलपति छनोट तथा सिफारिस समितिुले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट आवेदन माग गरेको हो।

समितिका अनुसार त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यमपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयमा उपकुलपति पदका लागि दरखास्त आह्वान गरिएको छ ।

समितिले आजको मितिबाट १० दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा राखिएको लिंकमा गएर दरखास्त पेस गर्न भनेको छ । सरकारले जारी गरेको अध्यादेशमार्फत् यी विश्वविद्यालयहरुका पदाधिकारी पदमुक्त भएका थिए । त्यसैले नयाँ नियुक्ति प्रक्रिया अघि बढाइएको हो ।

रिक्त उपकुलपति पदका लागि नाम सिफारिस गर्न गठित नाम छनोट तथा सिफारिस समितिले यही वैशाख २४ गते एकीकृत कार्यविधि स्वीकृत गरेको थियो । सो कार्यविधि पनि मन्त्रालयको वेबसाइटमा राखिएको समितिले जनाएको छ ।

विश्वविद्यालयहरू लामो समयदेखि नेतृत्वविहीन हुँदा प्राज्ञिक र प्रशासनिक कार्यमा असर परेको भन्दै चौतर्फी आलोचना भइरहेका बेला सरकारले यो सामूहिक प्रक्रिया सुरु गरेको हो। यस पटकको छनोट कत्तिको निष्पक्ष र पारदर्शी हुन्छ भन्नेमा शैक्षिक क्षेत्रको चासो बढेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *