पर्यटन, सांस्कृतिक सम्बन्ध र अन्तर्राष्ट्रिय सहकार्यलाई सुदृढ बनाउनुपर्नेमा सभामुख अर्यालको जोड

डिसी नेपाल
२५ वैशाख २०८३ १५:५७

काठमाडौं। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले नेपालको कूटनीतिक तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउन दिगो पर्यटन, सम्पदा संरक्षण र सुरक्षित कूटनीतिक अभ्यास आवश्यक रहेको बताएका छन्।

शुक्रबार नेपाल विश्व सम्बन्ध परिषद्को ७८औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै सभामुख अर्यालले नेपालको कूटनीतिक तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउन सुरक्षित कूटनीतिक अभ्यास आवश्यक रहेको बताएका हुन्।

उनले वर्तमान विश्व परिवेशमा नेपालले अवसर र चुनौती दुवैको सामना गरिरहेको उल्लेख गरे।
उनले भने, ‘विश्वव्यापी रुपमा नेपाललाई कूटनीतिक र सांस्कृतिक सम्बन्धहरुलाई थप सुदृढ बनाउने पर्यटन क्षेत्रमा दिगो विकास र संरक्षण सुरक्षित सबल कूटनीतिक अभ्यास गर्नुपर्ने हुन्छ। आजको विश्व परिवेशमा अनेकौ चुनौति र अवसरहरुको सामना गरिरहेका छौ। विश्वव्यापी महामारीको प्रभावले यात्रा, पर्यटन र सम्पदाको संरक्षणमा नया चुनौतिहरु सिर्जना गरिरहेको छ।’

उनले विश्वव्यापी महामारीको प्रभावले यात्रा, पर्यटन तथा सम्पदा संरक्षण क्षेत्रमा नयाँ चुनौती सिर्जना गरेको भन्दै त्यसलाई सामना गर्न अन्तर्राष्ट्रिय सहकार्य र प्रभावकारी कूटनीतिक अभ्यास आवश्यक रहेको बताए।

सभामुख अर्यालले अहिलेको विश्व परिवेशमा अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक प्रयोगको महत्व अझ बढेको उल्लेख गरे। उनले असंलग्न परराष्ट्र नीतिमा आधारित नेपालको राष्ट्रिय पहिचानलाई विश्वसामु सकारात्मक रूपमा प्रस्तुत गर्न सक्षम कूटनीतिले ठूलो भूमिका खेल्ने धारणा राखे।

‘अहिलेको विश्वपरिवेशमा अन्तराष्ट्रिय सम्बन्धहरु र कूटनीतिक प्रयोगको अझ बढी महत्व रहेको छ। असङलग्न नीतिको आधारमा रहेको हाम्रो राष्ट्रिय पहिचान र विश्वसामु नेपालको सकरात्मक छबी निर्माण गर्न हामीले अवलम्बन गर्ने कुटनीतिले ठुलो भूमिका खेल्न सक्छ,’ उनले भने।

उनले नेपालको आर्थिक समृद्धि र समुन्नत समाज निर्माणका लागि विश्व समुदायसँगको सम्बन्धलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिए।
‘हामीले विश्व कूटनीतिक सम्बन्धहरुलाई अझ सुदृढ बनाउने नेपालको आर्थिक समृद्धि सम्मुनत समाज निर्माणको लागि अन्तर्राष्ट्रिय सम्बन्धलाई अझ बलियो बनाउन आवश्यक छ,’ उनले भने।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *