रणनीतिक जलमार्गमा इरानको नयाँ नियम: अमेरिका र इजरायलका लागि बन्द हुँदैछ होर्मुजको ढोका

डिसी नेपाल
२७ वैशाख २०८३ ६:४२

तेहरान। इरानले विश्वकै महत्वपूर्ण जलमार्ग ‘स्ट्रेट अफ होर्मुज’ मा विदेशी जहाजहरूको आवागमन व्यवस्थापन गर्न नयाँ विधेयकको मस्यौदा तयार पारेको छ।

यस प्रस्तावित कानुन मार्फत तेहरानले इजरायल र संयुक्त राज्य अमेरिकाका जहाजहरूलाई आफ्नो जलक्षेत्रमा प्रवेशमा पूर्ण प्रतिबन्ध लगाउने र अन्य विदेशी जहाजहरूमाथि कर लगाउने योजना बनाएको छ। इरानले यस कदमलाई आफ्नो सार्वभौमिकता रक्षा र समुद्री सुरक्षा सुदृढ गर्ने प्रयासका रूपमा व्याख्या गरेको छ।

इरानी संसद्‌को राष्ट्रिय सुरक्षा र विदेश नीति समितिका अध्यक्ष इब्राहिम अजिजीले विधायिका पुनः सुरु भएलगत्तै यसलाई ‘निवारक कानुन’का रूपमा पारित गरिने जानकारी दिएका छन्।

उनका अनुसार यो विधेयक विदेश मन्त्रालय, बन्दरगाह र समुद्री संगठनसहित सम्बन्धित सबै निकायहरूसँगको व्यापक छलफलपछि अन्तिम रूप दिइएको हो। इरानले होर्मुज जलमार्गमा सधैँ सुरक्षित र स्वतन्त्र आवागमनको वकालत गरे पनि यस क्षेत्रमा अमेरिकी सेनाको उपस्थिति र इजरायली गतिविधिले असुरक्षा र अस्थिरता निम्त्याएको दाबी अजिजीले गरेका छन्।

यसैबीच, इरानको अर्धसरकारी समाचार संस्था फार्स न्युज एजेन्सीले शुक्रबार स्ट्रेट अफ होर्मुजमा इरानी सेना र अमेरिकी पानीजहाजबीच छिटपुट झडप भएको उल्लेख गरेको छ। यो विधेयक पारित भएमा रणनीतिक रूपमा महत्वपूर्ण मानिने यस जलमार्गमा इरानको नियन्त्रण थप मजबुत हुने र क्षेत्रीय तनाव अझै बढ्न सक्ने विश्लेषण गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *