सुकुमवासी समस्याको दीर्घकालीन समाधान आवश्यक छ : अध्यक्ष घिसिङ
चन्द्रपुर (रौतहट)। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सुकुमवासी समस्याको दीर्घकालीन समाधान गरिनुपर्नेमा जोड दिएका छन्।
जिल्लाको चन्द्रपुर-२ टेम्पुपार्कमा आज आयोजित कोणसभामा उनले वर्षौंदेखि समस्याका रूपमा रहेका समस्या समाधान गर्दै सुकुमवासीको आवासको हकलाई व्यवस्थित गर्न सरकारलाई आग्रह गरे।
अध्यक्ष घिसिङले संविधानप्रदत्त शिक्षा, स्वास्थ्य, आवास, खाद्य सुरक्षालगायत मौलिक हक कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराए। ‘वर्षौंदेखि सुकुमवासी, अव्यवस्थित बसोबासी, भूमिहिन नागरिकका समस्या समाधान भइहरेका छैनन्। एउटा दीर्घकालीन योजना बनाएर अगाडि बढौँ। ऐलानी जमिनमा बसोबास गदै आइरहेका नागरिकका समस्या पनि कानुनी रूपले समाधान गरौँ’, उनले भने।
यहाँ चन्द्रपुर नगरपालिकाले नगर क्षेत्रभित्रका सरकारी, सार्वजनिक जग्गा, राजमार्ग, बजार क्षेत्र, राजकुलोलगायत सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाएका घरटहरालगायत संरचना ३५ दिनभित्र हटाउन सूचना जारी गरिसकेको छ।
नगरपालिकामा दुई हजार ११९ परिवार भूमिहीन दलित, चार हजार ८६६ भूमिहीन सुकुमवासी र ११ हजार ७९५ परिवार अव्यस्थित बासोबासी रहेका जिल्लास्थित भूमि समस्या समाधान आयोगले जनाएको छ।







डिसी नेपाल







Facebook Comment