हत्याको आरोपमा तीन जना पक्राउ

डिसी नेपाल
२७ वैशाख २०८३ २०:५५

मकवानपुर। हत्या आरोपमा ३ जना अभियुक्त पक्राउ परेका छन्। घटनाको १५ वर्षपछि हत्या आरोपमा ३ जनालाई प्रहरीले मकवानपुरका विभिन्न स्थानबाट पक्राउ गरेको हो।

बकैया गाउँपालिका–४ का १८ वर्षीय विकास देउजाको हत्या आरोपमा आइतबा। उनीहरूलाई प्रहरीले १५ वर्षपछि पक्राउ गरेको हो। मकवानपुरस्थित इलाका प्रहरी कार्यालय ठिंगन र जिल्ला प्रहरी कार्यालयको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पक्राउ पर्नेमा भीमफेदी गाउँपालिका–८ भर्‍याङडाँडाका ३० वर्षीय अष्ट लामा र ५५ वर्षीय बद्री कठायत र भीमफेदी गाउँपालिका—८ का ६५ वर्षीय केदार नगरकोटी रहेका छन्। उनीहरुले २०६८ पुस ८ मा बकैया गाउँपालिका–४ का १८ वर्षीय विकास देउजाको हत्या गरेको आरोप छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले पुराना र थाँती रहेका मुद्दाहरुको अनुसन्धानलाई पुनः तीव्रता दिने क्रममा अभियुक्तहरूलाई पक्राउ गरिएको प्रहरी निरीक्षक राजु कुर्मीले बताए।

उनका अनुसार आपसी विवादका कारण घटेको उक्त घटना फाइल सुरुमा सरकारी वकिल हुँदै अदालतसम्म पुगेको थियो। तर, पोस्टमार्टम र घाउचोटको रिपोर्टका आधारमा अदालतले थप अनुसन्धान आवश्यक देखिएको भन्दै फाइल प्रहरीमा फिर्ता पठाएको उनले बताए। सोही बमोजिम प्रहरीको अनुसन्धान रहेको उक्त फाइललाई सूक्ष्म रूपमा अध्ययन गरेर अघि बढाएको उनले बताए।

प्रहरी निरीक्षक कुर्मीले प्रहरीले पुराना फाइलहरूलाई थन्क्याएर मात्र नराखी, तिनको सफल अनुसन्धान गरी नतिजा निकाल्न सक्रियता देखाएको बताए। पक्राउ परेका व्यक्तिहरूको बयान लिने र थप कानुनी प्रक्रिया अगाडि बढाउने कार्य भइरहेको उनको भनाइ छ। उक्त विषयमा थप विवरण खुल्न अध्ययनको क्रममा रहेको उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *