अमेरिकाको शान्ति प्रस्तावमा इरानको जवाफ: वार्ता जारी रहे पनि आक्रमणको बदला लिने चेतावनी

डिसी नेपाल
२८ वैशाख २०८३ ७:१९

तेहरान। इरान र अमेरिकाबीच बढ्दो सैन्य तनाव र कूटनीतिक प्रयासहरूका बीच तेहरानले अमेरिकाको पछिल्लो शान्ति प्रस्तावको जवाफ पठाएको छ।

शनिबार राति खाडी क्षेत्रमा इरानी ड्रोनहरूले विभिन्न लक्ष्यमा आक्रमण गर्ने चेतावनी दिइरहेकै समयमा इरानले पाकिस्तानी मध्यस्थकर्तामार्फत आफ्नो प्रतिक्रिया बुझाएको हो।

सरकारी प्रसारक आईआरआइसीका अनुसार इरानले आफ्नो जवाफमा इरान र उसका सहयोगी समूहमाथिको आक्रमण रोकिनुपर्ने, विशेषगरी लेबनानमा जारी युद्धको अन्त्य हुनुपर्ने र खाडी क्षेत्रमा ढुवानी सुरक्षा सुनिश्चित हुनुपर्ने सर्तहरूलाई जोड दिएको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गत शुक्रबारसम्म इरानको जवाफ आउने अपेक्षा गरे पनि यो प्रक्रिया केही लम्बिएको थियो। यसैबीच आइतबार भएको ड्रोन आक्रमणमा कतारतर्फ जाँदै गरेको एउटा मालवाहक जहाजमा क्षति पुगेपछि खाडी क्षेत्रमा तनाव थप चुलिएको छ।

संयुक्त अरब इमिरेट्सले यस आक्रमणमा इरानको संलग्नता रहेको आरोप लगाएको छ। यद्यपि, इरानका राष्ट्रपति मसुद पेजेस्कियानले वार्ता र छलफलको अर्थ आत्मसमर्पण नभएको स्पष्ट पार्दै शत्रुसामु कहिल्यै नझुक्ने अडान दोहोर्‍याएका छन्। तेहरानका सेना प्रमुख अलि अब्दोल्लाहीले पनि सर्वोच्च नेता मोजतबा खामेनीबाट सैन्य अपरेसन जारी राख्न नयाँ निर्देशन प्राप्त भएको जानकारी दिएका छन्।

अर्कोतर्फ इजरायली प्रधानमन्त्री बिन्यामिन नेतन्याहुले इरानसँग रहेको संवर्धित युरेनियमको भण्डार पूर्ण रूपमा नहटाएसम्म युद्ध समाप्त नहुने बताएका छन्।

सीबीएसको ‘सिक्स्टी मिनेट’ कार्यक्रमका लागि दिइएको अन्तर्वार्तामा नेतन्याहुले इरानका आणविक संवर्धन केन्द्रहरू भत्काउनुपर्ने र त्यहाँ रहेका आणविक सामग्रीहरू इरान बाहिर निकाल्नुपर्ने माग राखेका छन्। उनले यो काम चाहे आफैँ भित्र पसेर होस् वा अन्य कुनै माध्यमबाट, जसरी पनि पूरा हुनुपर्नेमा जोड दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *