खाद्यवस्तु र मरमसलाको मूल्यवृद्धि घट्यो

डिसी नेपाल
२८ वैशाख २०८३ १९:५६

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार खाद्यवस्तु, दाल तथा गेडागुडी र मरमसलाको मूल्यवृद्धि घटेको देखिएको छ।

चालु आर्थिक वर्ष २०८२/०८३ को चैत मसान्तमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.४७ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.३९ प्रतिशत रहेको थियो।

राष्ट्र बैंकका अनुसार खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ४.०१ प्रतिशत रहेको छ भने गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.७२ प्रतिशत रहेको छ।

आर्थिक वर्ष २०८२/०८३ को नौ महिनाको औसत मुदास्फीति २.३९ प्रतिशत रहेको पनि राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिको औसत मुद्रास्फीति ४.५७ प्रतिशत रहेको थियो।

गत चैत महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यु तथा तेल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १२.८७, फलफूलको ११.६७, तरकारीको ९.१८ प्रतिशतले बढेको छ। दाल तथा गेडागुडी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क २‍.७८, खाद्य तथा खाद्यजन्य पदार्थको १.६८ र मरमसलाको १.६४ प्रतिशतले घटेको छ।

गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १९.९४, यातायातको १२.०३, शिक्षाको ७. ४६, मदिराजन्य पेय पदार्थको ४.७७ र कपडा तथा जुत्ताचप्पलको ४.७३ प्रतिशतले बढेको छ। त्यस्तै, गत चैतमा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३.७१ प्रतिशतले र शहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ४.७४ प्रतिशतले बढेको छ।

प्रदेशगत रूपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.९८, मधेशको ४. ९१, बागमतीको ४.२०, गण्डकीको ३. ८५, लुम्बिनीको ५.१५, कर्णालीको ३.८२ र सुदूरपश्चिम प्रदेशको ३.३९ प्रतिशत रहेको छ। त्यस्तै, गत काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.६९, तराईको ४.८३, पहाडको ४.१८ र हिमालको ३.२० प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *