सुकुम्वासी संघद्वारा पूर्व-पश्चिम राजमार्ग ५ घण्टा चक्काजामको घोषणा
काठमाडौं। विभिन्न सुकुम्वासी संगठनहरूले सरकारको ‘डोजर आतंक’ विरुद्ध र भूमिको अधिकार माग गर्दै बिहीबार (वैशाख ३१ गते) पूर्व-पश्चिम राजमार्ग ५ घण्टा ठप्प पार्ने घोषणा गरेका छन्।
बुधबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गर्दै अखिल नेपाल सुकुम्वासी संघले बिहान ५ बजेदेखि १० बजेसम्म राजमार्गमा चक्काजाम गर्ने जानकारी दिएको हो।
नेपाली कम्युनिस्ट पार्टी निकट सुकुम्वासी संघका इन्चार्ज नहेन्द्र खड्काले यो आन्दोलन कुनै विशेष दलको मात्र नभई देशभरका सुकुम्वासीहरूको साझा अधिकारका लागि भएको बताए।
“सरकारी डोजर आतंकले गरिबको उठिबास लगाएको छ, जसले गर्दा धेरैको अर्बौंको क्षति भएको छ र कतिपय आत्महत्या गर्न बाध्य भएका छन्,” खड्काले भने। उनले यो संघर्षलाई अधिकार प्राप्तिको कोसेढुङ्गाका रूपमा अर्थ्याउँदै सबै क्षेत्रलाई सहयोग गर्न अपिल गरे।
संघका अध्यक्ष अमर परियारले सुकुम्वासीहरूलाई ‘होल्डिङ सेन्टर’ मा राख्ने सरकारको सोचको विरोध गर्दै स्थायी रूपमै जमिनको व्यवस्थापन हुनुपर्ने माग राख्नुभयो। उहाँले यातायात व्यवसायी, सुरक्षा निकाय र प्रशासनलाई आन्दोलनमा सहयोग गरिदिन आग्रह गरेका छन्।
कार्यक्रममा संयुक्त नागरिक पार्टीका अध्यक्ष दलमर्दन कामीले सरकारले सर्वोच्च अदालतको आदेश र संवैधानिक व्यवस्थाको समेत धज्जी उडाएको भन्दै आक्रोश व्यक्त गरे।
यो आन्दोलनमा अन्य राजनीतिक दल सम्बद्ध सुकुम्वासी संगठनहरूले पनि ऐक्यबद्धता जनाएका छन्।
नेपाली कांग्रेस निकट सुकुम्वासी संघका अध्यक्ष राजकुमार पाण्डे, जसपा निकट अर्जुन कुँवर लगायतले ७७ वटै जिल्लाका सुकुम्वासीहरूलाई सडकमा उत्रन आह्वान गरेका छन्। विकल्प र व्यवस्थापन बिना सुकुम्वासीका बस्ती भत्काउनु अमानवीय भएको उनीहरूको ठहर छ।
राजमार्ग चक्काजामसँगै भोलि नै काठमाडौंको माइतीघर मण्डलामा पनि संयुक्त प्रदर्शन गर्ने तयारी गरिएको संघका महासचिव प्रकाश खरेलले जानकारी दिए।







डिसी नेपाल







Facebook Comment