कानुन व्यवसायी र न्यायलयबीच नियमित संवाद आवश्यक : सभामुख यादव

डिसी नेपाल
३ जेठ २०८३ २२:१६
महेन्द्रनगर (धनुषा) । मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवले न्यायिक क्षेत्रलाई थप प्रभावकारी, पारदर्शी र जनउत्तरदायी बनाउन कानुन व्यवसायी र न्यायलयबीच नियमित संवाद आवश्यक रहेको बताएका छन्।
मुख्य न्यायाधिवक्ताको कार्यालय मधेस प्रदेशद्वारा आज जनकपुरधाममा आयोजित ‘बारसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम’मा सभामुख यादवले न्यायसम्पादनको कार्यलाई जनमुखी बनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विचार व्यक्त गरे।
उनले कानुन व्यवसायी, न्यायाधीश तथा सरकारी वकिलबीचको समन्वयले न्यायिक प्रणालीलाई थप सुदृढ बनाउने उल्लेख गर्दै संविधानले प्रत्याभूत गरेको नागरिक अधिकारको संरक्षणमा सबैपक्ष जिम्मेवार हुनुपर्ने बताए।
सभामुख यादवले मधेस प्रदेशमा न्यायिक पहुँच विस्तार, छिटोछरितो न्याय सम्पादन तथा पीडितमैत्री कानुनी सेवा प्रवाह आजको आवश्यकता रहेको उल्लेख गरे। उनले न्याय क्षेत्रप्रति नागरिकको विश्वास अभिवृद्धि गर्न पारदर्शिता, निष्पक्षता र उत्तरदायित्व अपरिहार्य रहेको धारणा राखे।
नेपाल बार एसोसिएसन जनकपुरधामको सभाहलमा आयोजित कार्यक्रममा कानुन व्यवसायी, न्यायिक क्षेत्रका व्यक्तित्व तथा विभिन्न निकायका प्रतिनिधिको सहभागिता थियो। कार्यक्रममा न्यायिक अभ्यासमा देखिएका समस्या, कानुनी जटिलता तथा सुधारका उपायबारे छलफल गरिएको थियो।
कार्यक्रम मुख्य न्यायाधिवक्ताको कार्यालय, जनकपुरधाम मधेस प्रदेशको आयोजनामा तथा नेपाल बार एसोसिएसन जनकपुरधामको सहआयोजनामा भएको हो।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *