हिमाली छुर्पी ब्रान्ड ‘डग्सी च्यू’का संस्थापक दम्पत्ती कान्स रेड कार्पेटमा, जनावरप्रेमको सन्देश

डिसी नेपाल
४ जेठ २०८३ ९:५९

काठमाडौं। विश्वकै प्रतिष्ठित चलचित्र महोत्सवमध्ये एक कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा यसपटक नेपाली उद्यमी दम्पत्ती भूपेन्द्र खनाल र स्नेह शर्मा खनालले घरपालुवा जनावरप्रतिको प्रेम र जिम्मेवारीको सन्देश दिएका छन्।

मोरङको उर्लाबारीका खनाल दम्पत्ती कुकुरलाई खुवाइने हिमाली छुर्पी उत्पादन गर्ने अन्तर्राष्ट्रिय ब्रान्ड ‘डग्सी च्यू’का संस्थापक हुन्। उनीहरूले रेड कार्पेटमा आफूहरूले हुर्काएर गुमाएको कुकुर ‘मोगली’को सम्झनामा प्रेम, वफादारी र आत्मीयताको प्रतीक झल्किने विशेष पहिरन लगाएका थिए।
भूपेन्द्र खनालले आफूले लगाएको पोशाकमा नेपाली मौलिकता, भारतीय शैली र पेरिसको डिजाइनलाई समेटिएको बताए। ‘यो केवल फेसन होइन, हाम्रो पहिचान, संस्कृति, प्रेम र यहाँसम्म आइपुग्दाको यात्राको अभिव्यक्ति हो,’ उनले भने।

एक समय भारतमा सामाजिक सञ्जाल विश्लेषण कम्पनी सञ्चालन गरेका खनाल पछिल्लो एक दशकदेखि हिमाली छुर्पी उद्योगमा सक्रिय छन्। सन् २०१५ मा स्थापना भएको ‘डग्सी च्यू’ले नेपाल र भारतका हिमाली भेगमा उत्पादन हुने छुर्पीलाई ‘हिमालयन याक च्यू’का रूपमा विश्व बजारमा पु¥याइरहेको छ।

हाल यो ब्रान्ड ३० भन्दा बढी देशमा फैलिएको छ। कम्पनीका अनुसार वार्षिक करिब २६० करोड भारतीय रुपैयाँ बराबरको कारोबार भइरहेको छ। प्राकृतिक र स्वस्थ पोषण दिने उद्देश्यले उत्पादन गरिएको छुर्पी विश्वभरका लाखौँ घरपालुवा जनावर पाल्ने परिवारसम्म पुगेको कम्पनीले जनाएको छ। सह-संस्थापक स्नेह शर्माले कान्समा सहभागितालाई घरपालुवा जनावरको हेरचाह, पोषण र कल्याणबारे विश्वभर बढ्दो सचेतनाको प्रतीक भएको बताइन्। ‘हिमालयमा जन्मिएको ब्रान्ड कान्सको रेड कार्पेटसम्म पुग्नु हाम्रो लागि अत्यन्त विशेष क्षण हो,’ उनले भनिन्।

पछिल्ला वर्षहरूमा घरपालुवा जनावरलाई परिवारकै सदस्यका रूपमा हेर्ने प्रवृत्ति बढ्दो छ। त्यससँगै उनीहरूको स्वास्थ्य, पोषण र कल्याणबारे विश्वव्यापी बहस पनि तीव्र बनेको छ । खनाल दम्पत्तीको कान्स उपस्थितिलाई त्यही सन्देशको प्रतीकात्मक प्रस्तुति मानिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *