नीतिगत स्थिरता र निजी क्षेत्रमैत्री वातावरणका लागि नयाँ सरकारले भरोसा जगायो: सभामुख अर्याल
काठमाडौं। सभामुख डोलप्रसाद (डीपी) अर्यालले मुलुकमा नयाँ सरकार गठन भएसँगै नीतिगत स्थिरता र निजी क्षेत्रमैत्री वातावरण निर्माणको दिशामा सकारात्मक आशा पलाएको बताएका छन्।
नेपाल व्यापार शिखर सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभामुख अर्यालले नयाँ सरकारको आगमनले लगानीकर्ताहरूमा नयाँ उत्साह थपेको उल्लेख गरे। उनले यो उत्साहलाई दीर्घकालीन विश्वासमा रूपान्तरण गर्नका लागि सरकारले नीतिगत स्थायित्व कायम गर्नैपर्नेमा जोड दिए।
शिखर सम्मेलनमा बोल्दै उनले भने, ‘नयाँ सरकारको आगमनसँगै नीतिगत स्थिरता र निजी क्षेत्रमैत्री वातावरणप्रति आशा पलाएको छ। यसले लगानीकर्ताहरूमा नयाँ उत्साह भर्नुका साथै उक्त उत्साहलाई दीर्घकालीन विश्वासमा बदल्न हामीले नीतिगत स्थायित्व कायम गर्न सक्नुपर्दछ।’
सभामुख अर्यालले मुलुकको वर्तमान आर्थिक विकासको लक्ष्य हासिल गर्न अब परम्परागत कार्यशैली मात्र पर्याप्त नहुने स्पष्ट पारे। बदलिँदो समयअनुसार आर्थिक समृद्धिका लागि अब नवप्रवर्तन (इनोभेसन) र डिजिटलाइजेसनलाई मुख्य प्राथमिकतामा राख्नुपर्ने उनको धारणा थियो।
‘अहिले लिएको आर्थिक विकासको लक्ष्य हासिल गर्न परम्परागत शैली मात्र पर्याप्त हुँदैन। यसमा नवप्रवर्तन र डिजिटलाइजेसनलाई मुख्य प्राथमिकता दिन सक्नुपर्दछ,’ उनले भने।
नेपालको आगामी मुख्य प्राथमिकता सूचना प्रविधि (आईटी) क्षेत्र हुनुपर्ने र यही क्षेत्र नै देशको आर्थिक रूपान्तरणको ‘गेम चेन्जर’ बन्न सक्ने बलियो सम्भावना रहेको उनले औंल्याए। सूचना प्रविधि क्षेत्रलाई संस्थागत रूपमा अगाडि बढाउन, डिजिटल बिजनेस हब स्थापना गर्न र कृत्रिम बुद्धिमत्ता (एआई) मैत्री कानुनी पूर्वाधार निर्माणका लागि आफूहरूले काम गरिरहेको समेत सभामुख अर्यालले जानकारी दिए।







डिसी नेपाल







Facebook Comment