कालिन्चोकको पृष्ठभूमिमा गायक विकास मानन्धरको ‘पिरती’ सार्वजनिक, आकांक्षा र विजेनको रोमान्स
काठमाडौं। गायक विकास मानन्धरको नयाँ गीत ‘पिरती’को भिडियो औपचारिक रूपमा सार्वजनिक भएको छ। प्रेमभावले भरिएको यस गीतमा गायक विकासकै शब्द तथा सङ्गीत रहेको छ भने उनलाई गायनमा उदीयमान गायिका रेइशा मिश्रले आकर्षक स्वर दिएर साथ दिएकी छन्। गीतको सङ्गीत संयोजन (एरेन्ज) बिजेश्वर राज तण्डुकारले गरेका हुन् भने तास स्टुडियोमा यसको मिक्सिङ र मास्टरिङ गरिएको हो।
गायक विकास मानन्धरकै आधिकारिक युट्युब च्यानलमार्फत बजारमा ल्याइएको यस गीतको भिडियोमा मोडल आकांक्षा जोशी र विजेन मगरको मुख्य अभिनय देख्न सकिन्छ।
भिडियोमा आकांक्षा र विजेनबीचको साँचो र रोमान्टिक प्रेमभावलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ। दोलखाको प्रसिद्ध पर्यटकीय स्थल कालिन्चोकका मनमोहक एवं सुन्दर दृश्यहरूमा छायाङ्कन गरिएको यस भिडियोमा विजेन र आकांक्षा मायाका कुरा गर्दै प्रकृतिसँग रमाइरहेको अवस्थामा देखा परेका छन्।

आफ्नो नयाँ सिर्जनाका बारेमा बोल्दै गायक विकासले ‘पिरती’ गीतले दुई वटा मुटुबीचको निश्चल, गहिरो र शान्त प्रेमलाई प्रस्तुत गरेको बताएका छन्। यसअघि उनले ‘मन’ बोलको गीतको भिडियो सार्वजनिक गरेर दर्शक तथा श्रोताको मन जितिसकेका छन्।
प्राविधिक रूपमा निकै उत्कृष्ट बनाइएको यस भिडियोको निर्देशन सजन कट्टेलले गरेका हुन् भने सौरभ लामाको आकर्षक छायाङ्कन र रामप्रसाद चौधरीको सम्पादन रहेको छ। त्यस्तै, रेनिस फागोले प्रोजेक्ट लिड र रङ संयोजन (कलर ग्रेडिङ) को जिम्मेवारी निभाएका छन् भने समीर मियाँ र सत्यम रानाले भिडियोको भिजुअल इफेक्ट्स (भीएफएक्स) को काम सम्हालेका छन्।
नेपालको मकवानपुरस्थित हेटौँडा स्थायी घर भएका गायक विकास मानन्धर हाल अध्ययन तथा रोजगारीको सिलसिलामा अष्ट्रेलियाको ब्रिसबेनमा बस्दै आएका छन्। प्रवासमा रहेर पनि नेपाली सङ्गीतलाई निरन्तरता दिइरहेका उनको यो नयाँ गीत युट्युबसँगै स्पोटिफाई, एप्पल म्युजिक, अमेजन र युट्युब म्युजिक जस्ता विश्वप्रसिद्ध सङ्गीतका विभिन्न डिजिटल प्लेटफर्महरूमा एकैसाथ उपलब्ध गराइएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment