सुकुमवासी समस्या, आत्महत्याका घटना र पाथीभरा केबुलकारबारे संसद्‍मा उठ्यो आवाज

डिसी नेपाल
५ जेठ २०८३ १२:३७

काठमाडौं। प्रतिनिधि सभाका सांसदहरूले मुलुकको पछिल्लो समसामयिक विषयलाई लिएर सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

सभाको आज बसेको बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरूले सुकुमवासी समस्या, विकास निर्माण, बढ्दो महँगी, रोजगारी र सुरक्षा जस्ता जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन्।

बैठकमा बोल्दै सांसद विष्णुमाया विकले होल्डिङ सेन्टरमा बस्दै आएका सुकुमवासीहरूको दैनिक जीवन कष्टकर बन्दै गएको तर्फ ध्यान खिचेकी छन्।

उनले ती सेन्टरमा आश्रय लिइरहेका बालबालिकाको पठनपाठन ठप्प भएको भन्दै शिक्षाको अधिकार सुनिश्चित गर्न माग गरेकी छन्।

सांसद विकले भनिन्, “सरकारको नीति गरिब लखेट्ने होइन, गरिबी भगाउने हुनुपर्छ। सुकुमवासीहरूलाई सान्त्वना र राहत दिन पनि सरकारले तत्काल यो विषयमा सम्बोधन गर्नुपर्छ।”

त्यस्तै, अर्का सांसद शम्भुप्रसाद ढकालले मुलुकभर पछिल्लो समय आत्महत्याका घटनाहरू बढ्दै गएको प्रति चिन्ता व्यक्त गरेका छन्। उनले कसैलाई आत्महत्या गर्न बाध्य पार्ने वा दुरुत्साहन गर्ने परिस्थिति र व्यक्तिहरूमाथि गहिरो छानबिन गरी दोषीलाई कडा कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेका  छन्।

यसैगरी, सांसद क्षितिज थेबेले ताप्लेजुङमा निर्माणाधीन पाथीभरा केबुलकार परियोजनाको विषयलाई लिएर सरकारको आधिकारिक धारणा माग गरेका छन्।

उनले यो आयोजनाको विषयमा ताप्लेजुङ मात्र नभई सिङ्गो देशकै ध्यान केन्द्रित भएको स्पष्ट पारेका  बताउँदै भने, “सरकारले मौखिक रूपमा मात्र काम रोकिएको भनेको छ। तर, सरकारको आधिकारिक र लिखित धारणा के हो? यो आयोजना आखिर बन्ने हो कि सधैँका लागि रोकिने हो, यसको जवाफ सरकारले दिनुपर्छ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *