प्रदर्शनको पूर्वसन्ध्यामा ‘काजी’ को आक्रामक अग्रिम बुकिङ, निर्माता र कलाकार उत्साहित
काठमाडौं। आगामी जेठ ८ गते अर्थात् भोलि शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको बहुप्रतीक्षित नेपाली चलचित्र ‘काजी’ को अग्रिम टिकट बुकिङ खुलेसँगै दर्शकको उच्च आकर्षण देखिएको छ।
चलचित्रको ट्रेलर र गीत-संगीत सार्वजनिक भएदेखि नै सिर्जना भएको उत्साहलाई मध्यनजर गर्दै देशभरका मल्टिप्लेक्सहरूले उच्च संख्यामा शोहरू उपलब्ध गराएका छन्।
अनलाइन प्रणाली तथा विभिन्न प्रदर्शकहरूको वेबसाइटमा शो खुल्ने बित्तिकै टिकट बुकिङ र खरिद गर्ने दर्शकको चाप बढेको निर्माण पक्षले दाबी गरेको छ। यो प्रारम्भिक आकर्षणले शुक्रबार बक्स अफिसमा चलचित्रले धमाकेदार सुरुआत गर्नेमा वितरकहरू पूर्ण रूपमा विश्वस्त देखिएका छन्।
निर्माता रामप्रसाद रिजालले दर्शकको यो प्रतिक्रियाबाट सम्पूर्ण निर्माण टोली उत्साहित भएको बताए। उनले भने, “हामीले कुनै पनि प्राविधिक वा रचनात्मक कुरामा कन्जुस्याइँ नगरी इमानदार भएर एउटा उत्कृष्ट चलचित्र तयार गरेका छौँ। हलमा पुगेपछि दर्शकले ‘काजी’ र ‘कजिनी’ मार्फत प्रेम, समर्पण र भावनात्मक सम्बन्धको वास्तविक अर्थ महसुस गर्नुहुनेछ।”
विगतमा आफ्ना चलचित्रको आक्रामक प्रचारप्रसारमा कमै देखिने अभिनेता विपिन कार्की यसपटक भने ‘काजी’ को विषयवस्तुलाई लिएर निकै ढुक्क र विश्वस्त देखिएका छन्।
चलचित्रमा आफ्नो फरक भूमिका र प्रेमकथाबारे चर्चा गर्दै कार्कीले भने, “‘काजी’ मैले दर्शकलाई ढुक्क भएर हेर्नुस् भन्न सक्ने चलचित्र बनेको छ। यसमा देखाइएको प्रेम र समर्पणले दर्शकलाई हलबाट निस्किँदा एक प्रकारको मानसिक सन्तुष्टि दिनेछ। मलाई विश्वास छ, हलबाट निस्किएका दर्शकले दिने सकारात्मक प्रतिक्रिया (Word of Mouth) का कारण चलचित्रको व्यापार झन् आक्रामक हुँदै जानेछ।”
लक्ष्मण रिजालको निर्देशनमा तयार भएको यस चलचित्रले श्रीमान–श्रीमतीबीचको आपसी समझदारी, त्याग र सँगै खुसी भएर बाँच्ने पारिवारिक एवं सामाजिक भावनालाई मुख्य कथावस्तु बनाएको छ।
चलचित्रमा विपिन कार्कीका साथमा केकी अधिकारी, गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट र हिउँवाला गौतम लगायतका स्थापित कलाकारहरूको मुख्य अभिनय रहेको छ।
प्रदीप भारद्वाजको लेखन तथा चिन्तन राजभण्डारीको छायांकन रहेको यस चलचित्रमा कालीप्रसाद बास्कोटाको संगीत र विपीन मल्लको सम्पादन रहेको छ। रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा नेहान रिजाल र विकाशराज जोशीले निर्माण गरेको यस चलचित्रलाई श्रीराम बालाजी फिल्म्सले देशभर वितरणको जिम्मा लिएको छ।







डिसी नेपाल







Facebook Comment