झरनासँग झरना, कति झरना!

ज्ञानेन्द्र विवश
९ जेठ २०८३ १८:१५

अन्नपूर्ण आधार शिविर जाँदा बाटोमा देखिएका अनेकौँ झरनाहरूले प्रत्येक पदयात्रीलाई टक्क रोकिएर दृश्य हेर्न बाध्य पार्थे। किनभने झरनाहरूबाट पानीका थोपाहरू एकपछि अर्को गर्दै झरेर हरियो वनस्पतिमा सेतो झरनाको सुन्दर रूपको आकर्षक संरचनाले मन लोभ्याउँथ्यो।

झरनाको पनि जात हुन्छ कि जस्तो लाग्यो, अन्नपूर्ण आधार शिविरको पदयात्रामा। जताततै झरना-सानो, ठूलो, शान्त, उफ्रिँदै, कुहिरोले बेरिँदै, घाममा छमछमी नाच्दै। कोही चट्टानको काँध समाएर तल झर्दै थियो, कोही हरियो जंगलको घारीमा हराउँदै जान्थ्यो। कुनै झरना चट्टानको खोचभित्र बगेर बिलाएको देखिन्थ्यो। कतिपय झरना माथि-माथि चट्टाने पर्वतलाई चिरेर बतासको बेगसँगै झरिरहेका थिए।

कति त झरना यस्तो लाग्थ्यो- मानौँ धर्तीले आकाशका आँखाबाट आएको आँसु टिप्दै छ। घामपानीको संयोगमा आकाश र धर्ती जोड्दै इन्द्रेणी रङको दृश्य पदयात्रीका लागि कति मादक, कति तिर्खालु, कति सौन्दर्यमय रङहरूका छटा!

गाडीबाट ओर्लिएर पाइला चाल्न थालेपछि नै झरनाहरूको दृश्य देख्न सुरु हुन्छ। एउटा झरना सकिन नपाउँदै अर्को झरनाको संगीत सुन्न थालिन्छ। त्यसले हरेक पदयात्रीलाई टक्क उभिन बाध्य बनाउँछ। घडीका काँटा बिर्सिएर, खुट्टाका मांसपेशीहरूको थकान पनि बिर्सिएर, यात्रुहरू झरनाको सौन्दर्यमा हराउँछन्।

त्यहाँ कुनै गाइडको हतार हुँदैन, कुनै क्यामेराको क्लिकले त्यो क्षणको पूर्णता बाँध्न सक्दैन। विदेशी पर्यटकका हर्षविभोर अनुहार मेरा लागि आनन्दमय क्षण बन्छन्। दुःख झेल्दै सुख भेट्न मरिहत्ते गर्दै आएका यात्री सुखद खुसीको अँगालोमा बेरिन्छन्। यही हो, सबै यात्रीको चाहना!

झरनाबाट खस्दै गरेका पानीका थोपाहरूले वरिपरिका बोटबिरुवामा चाँदीको टलक भरिदिन्थे। हरियो पात र सेतो निष्कलङ्क पानीको सम्मिलनले यस्तो चित्र बनाउँथ्यो, जुन पेन्टिङ होइन, प्रकृतिको क्यानभासमा खिचिएको उत्कृष्ट दृश्य हो। दृश्य मात्र होइन, झरनाको ध्वनिले पनि केही भन्ने गर्छ। एकै स्वर भएर बगेका ती झरनाहरूले जीवनको गहिरो गीत गाइरहेझैँ लाग्छ- कहिल्यै नअडिने, नथाक्ने, अगाडि बढिरहने, हरेश नखाने।

किन झरनाले यस्तो मोहनी लगाउँछ त? सायद त्यसले हामीलाई अवश्य पनि केही कुरा सम्झाउँछ– हामी पनि शुद्ध, स्वतन्त्र, सुन्दर कतैबाट खसेर, टुक्रिएर, फेरि बगिरहन चाहन्छौँ।

झरनाको त्यो सान्निध्यले मलाई यात्रामा होइन, ध्यानमा चुपचाप बसाउँछ। म आफूलाई बिर्सिएँ र पानीको थोपामा हराएँ। अन्नपूर्णको हिउँ पग्लिएर बनेको त्यो पानी कसरी मेरो आत्मासम्म पुग्यो, के थाहा!

यसरी, अन्नपूर्ण यात्रामा मैले देखेका एउटा होइन अनेकौँ झरनाहरू मेरा भित्री स्पन्दनका प्रतिविम्ब थिए। प्रकृतिका कविता थिए, जसलाई पढ्न आँखाले होइन, मनले जान्नुपर्छ।

पहिलो झरना भेटिँदा लाग्यो- ‘यत्रो सौन्दर्य त सुरुवातमै!’

तर, त्यो सङ्केत मात्र रहेछ, एक अमूर्त आमन्त्रण- ‘आउनुहोस्, मसँग बगिरहनुहोस्।’

अन्नपूर्ण आधार शिविरको पदयात्रामा, झरनाहरू मेरा सहयात्री भए। केही पाइला हिँड्नासाथ कतै बिसौनीमा सुस्ताउँदा यसो मास्तिर हेर्‍यो, यसो पारिपट्टि हेर्‍यो, झरझर झरना अविरल बगिरहेको आकाशबाट बेग बतासले हुत्तिएर झरेझैँ लाग्ने। अचम्म लाग्छ, त्यति माथि विशाल ढुङ्गाको काखबाट कसरी यस्तो पानीको मुहान फुटेर झरेको होला!

कतै बाटोको किनारमा कानै बैरो बनाउने जस्तो गरी झर्ने, कतै खोल्सामा गर्जेर बग्ने, कतै घाँसे पाखामा सुमसुम्याउँदै ओरालिने झरना झरनै थिए। कहिले झरनाले मलाई रोक्थ्यो, कहिले म झरनासँगै बग्छु जस्तो लाग्थ्यो।

झरनाहरूले समयको गणना हटाइदिए। पदचापभन्दा अगाडि बढ्थ्यो झरनाको स्वर। घडी होइन, हृदयको गति मिलाएर हिँडिन्थ्यो। त्यो ध्वनि कुनै सङ्गीत थिएन, तर हृदयको स्पर्श थियो। हरेक झरनाले एउटा कथा सुनाउँथ्यो। पानीको, पत्थरको, त्यो त मेरो आफ्नै कथा हुन्थ्यो। सुनिएन भने पनि गहिरिएर अनुभूति हुने कथा!

बाटोभरि जति उकालो लागेँ, झरनाहरू उति नै तलतिर बगिरहे। म उक्लिरहेछु जीवनका उचाइतिर। झरनाहरू मेरा सबै थकाइ, मायामोह र अवसाद बोकेर ओरालिइरहेछन्। म चुप लागेर हेर्थें। झरनाहरू बगिरहन्थे- हरिया पातहरू चुम्दै, चट्टानका कुना छाम्दै, कुहिरोभित्र लुक्दै, कुहिरो बाहिर निस्किँदै।

एक ठाउँमा, जहाँ ढुङ्गैढुङ्गाको ठूलो अक्करे पहाडले आकाश छेकेको थियो। तल बाटोबाट टोपी खस्ने उचाइको आकाश हेर्दा झरना आकाशबाटै झरिरहेको जस्तै लाग्थ्यो। त्यहाँको झरनाले भनेको जस्तो लाग्यो- ‘तिमी पदयात्री होइनौ, तिमी मेरा दर्शक हौ, मेरो साक्षी हौ। म बग्दिनँ, तिमी बग्छौ।’

त्यसपछि म आफूलाई वास्तवमै कुनै यात्रामा होइन, कुनै ध्यानमा रहेको अनुभव गर्न थालेँ। त्यहाँ शरीर अन्नपूर्णतिर हिँडिरहेको थियो, तर मेरो मन झरनाको कञ्चन पानीसँगै बगिरहेको थियो।

प्रकृतिले त्यस्तो संयोजन बनाउँछ, जुन न शब्दले व्याख्या गर्न सकिन्छ, न चित्रले यथार्थ भाव खिच्न सकिन्छ। तर, त्यसलाई मनले महसुस गर्न सकिन्छ। त्यो सेतो पानी, हरियो पात, नीलो आकाश र खोल्साको मिठास मिलेर एउटा यस्तो दृश्य बनाउँथ्यो, जसले आँखा रसाउँथ्यो। मानौँ, यो कुनै दृश्य थिएन, प्रकृतिको एक झलक थियो।

झरनाहरूले मलाई यात्रा मात्र गराएनन्, तिनले मलाई भित्र फर्किन सिकाए। म त्यो बाटोमा अन्नपूर्ण पुग्न हिँडेको थिइनँ, म त आफूभित्रको हराएको शान्ति भेट्न हिँडेको रहेछु। त्यो शान्ति, त्यो आत्मिक सन्तुलन मैले झरनाहरूको सङ्गीतमा भेट्दै थिएँ।

अन्नपूर्णको शिरमुनि उभिँदा मन शान्त थियो। झरनाहरू अझै बगिरहेका थिए। तर, म भने तिनै झरनाहरूको एउटा शुद्ध, सजल, सरल थोपाजस्तो भएको थिएँ।

पहिलो झरना देख्नासाथै लाग्यो– ‘के यो यत्रो सौन्दर्यको सुरुवात मात्र हो?’

उत्तर आएजस्तो लाग्यो– ‘हो, म मात्र ढोका हुँ, भित्र अझ कति दृश्यहरू छन्, हेरेर नसकिने, देखेर आँखा नथाक्ने!’

त्यसपछि म पदयात्री रहिनँ, झरनाहरूको साधक भएँ, तिनको साक्षी भएँ।

अन्नपूर्ण आधार शिविरतर्फ उक्लँदै गर्दा बाटोभरिकै झरनाले मलाई रोकिरह्यो- कतै पाखाको छेउमा झर्ने, कतै बुट्यानभित्र लुकेर बग्ने, कतै चट्टान चिरेरै गर्जने। ती झरनाहरू दृश्य थिए, ती प्रकृतिका जीवन्त विम्बहरू थिए, जसले आँखा मात्रै होइन, भित्रैदेखि मन पनि रसाउँथे।

झरनाले मलाई मात्र होइन, मेरो वरिपरिका पदयात्रीहरूलाई पनि मोहित पारिरहेको थियो। जापानी युवतीहरू झरनाको पानीमा औँला चोपाउँदै ‘ब्युटिफुल!’ भन्दै थिए। एउटी जर्मन महिला झरनाको छेउमै बसेर ध्यानमा थिइन्, उनले भनेकी थिइन्- ‘मैले मेरो जीवनमा यति सुन्दर, यति सफा सौन्दर्य कहिल्यै देखेकी थिइनँ।’ एक वृद्ध अस्ट्रेलियाली दम्पती, जो पाँचौँ पटक नेपाल आएका रहेछन्, झरनाको तस्बिर खिच्दै भन्थे- ‘ओ माइ गड, म यस्तो पवित्र धर्ती छोडेर मेरो देशमा कसरी फर्कूँ?’

बाटोभरि झरनाहरूको निरन्तर प्रवाह कायमै थियो। एउटा झरना सकिन नपाउँदै अर्को झरनाको छाल सुनिन्थ्यो। कतै घाममा टल्किएको पानीको बुँदमा इन्द्रेणी झुल्किन्थ्यो, कतै कुहिरोले लुकाउँथ्यो झरनाको अनुहार। त्यसले दृश्यभन्दा बढी अनुभूति गहिरो बनाउँथ्यो।

हामी पदयात्रामा लागेकाहरूका पाइला-पाइला झरनाले रोकेको थियो। रोक्न बाध्य बनाएको हुन्थ्यो। किनभने ती झरना मात्र पानी थिएनन्। ती बग्ने कविता थिए, संगीत थिए, जीवनका रूपान्तरण थिए, प्राकृतिक सौन्दर्यका विराट विम्ब थिए।

अन्ततः, जब म अन्नपूर्ण आधार शिविर पुगेँ, त्यहाँ हिमालको अडिग शान्तिमा म टोलाएँ। तर, मेरो स्मृतिमा अझै झरनाहरू बगिरहेका थिए- स्वरमय, शुद्ध, सम्मोहनपूर्ण। म त्यो यात्राबाट हिमाल हेरेर, हिमाललाई आँखाकै डिलमा भेटेर मात्र होइन कि झरनासँग बगेर फर्केको थिएँ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *