अमेरिका बस्ने विदेशीलाई झट्का: ग्रीन कार्ड चाहिए आफ्नै देश फर्किनू !

डिसी नेपाल
९ जेठ २०८३ १७:५७

वासिङ्टन डिसी। अमेरिकाले ‘ग्रीन कार्ड’ (स्थायी बसोबास अनुमति) प्राप्त गर्न चाहने विदेशी नागरिकका लागि आप्रवासन नियममा व्यापक कडाइ गरेको छ। नयाँ नीति अनुसार अब अमेरिकाभित्र अस्थायी रूपमा बसिरहेका विदेशी नागरिकले ग्रीन कार्डका लागि आवेदन दिन अनिवार्य रूपमा आफ्नै देश फर्किनुपर्नेछ।

अमेरिकी नागरिकता तथा आप्रवासन सेवाले शुक्रबार नयाँ नीति सार्वजनिक गर्दै अमेरिकाभित्रैबाट बसाइँ स्थिति परिवर्तन गरेर स्थायी बसोबास अनुमति लिने प्रक्रियामा रोक लगाएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

अमेरिकी गृह सुरक्षा विभागका अनुसार अस्थायी भिसामा अमेरिका रहेका विदेशीहरूले अब ग्रीन कार्ड लिन स्वदेश फर्केर त्यहाँस्थित अमेरिकी दूतावासमार्फत नै आवेदन प्रक्रिया पूरा गर्नुपर्नेछ। विभागले यस कदमलाई आप्रवासन कानुनको सही कार्यान्वयन भएको दाबी गरेको छ।

कानुनका छिद्रहरू प्रयोग गरेर अमेरिकाभित्रैबाट स्थायी बसोबास अनुमति लिने प्रवृत्ति रोक्न यो नीति ल्याइएको विभागको भनाइ छ। USCIS ले जारी गरेको विज्ञप्तिमा भनिएको छ:

“अस्थायी रूपमा अमेरिकामा रहेका र ग्रीन कार्ड चाहने विदेशी नागरिक आवेदनका लागि आफ्नै देश फर्किनुपर्छ। यो नीतिले आप्रवासन प्रणालीलाई कानुनले परिकल्पना गरेअनुसार सञ्चालन गर्न मद्दत गर्छ र गलत तरिकाको प्रयोगलाई निरुत्साहित गर्छ।”

यसका साथै, यो नियमले गर्दा प्रशासनिक बोझ कम हुने र अन्य विचाराधीन मुद्दा तथा आवेदनहरू छिटो टुङ्ग्याउन स्रोत र जनशक्ति केन्द्रित गर्न मद्दत पुग्ने USCIS को तर्क छ।

यो निर्णय राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले आप्रवासन प्रणालीलाई कडा बनाउने अभियानअन्तर्गत चालेको पछिल्लो कदम हो। यसअघि ट्रम्प प्रशासनले विद्यार्थी, सांस्कृतिक आदानप्रदान कार्यक्रमका सहभागी र सञ्चारकर्मीहरूको भिसा अवधि छोट्याएको थियो। त्यस्तै, अमेरिकी विदेश मन्त्रालयका अनुसार ट्रम्प पुनः सत्तामा आएयता एक लाखभन्दा बढी विदेशीहरूको भिसा रद्द गरिसकिएको छ।

शरणार्थी तथा आप्रवासीका क्षेत्रमा कार्यरत संस्थाहरूले भने यो नयाँ नीतिको तीव्र विरोध गरेका छन्। आप्रवासी सहायता संस्था HIAS ले यो नीति अमानवीय भएको टिप्पणी गरेको छ।

संस्थाका अनुसार मानव बेचबिखनबाट बचेका व्यक्ति, दुर्व्यवहार तथा बेवास्ता झेलेका बालबालिकालाई समेत उनीहरूले ज्यान जोगाउन छोडेका जोखिमपूर्ण देशमै फर्केर ग्रीन कार्डको प्रक्रिया पूरा गर्न बाध्य बनाइनु अत्यन्तै चिन्ताजनक र अन्यायपूर्ण छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *