‘टक्सिक’ अभिनेत्रीको फेक भिडियो भाइरल

डिसी नेपाल
११ जेठ २०८३ ११:५२

काठमाडौं । साउथ सिनेमाकी उदयमान स्टार रुक्मिणी वसंत यतिबेला इन्टरनेटमा निकै चर्चामा छिन्। सामाजिक सञ्जालमा उनको एउटा बिकिनी भिडियो तीव्र रूपमा भाइरल भइरहेको छ, जसमा उनी हरियो रंगको बिकिनी लगाएर स्विमिङ पुलमा ओर्लिरहेको देखिन्छ।

तर, यो भिडियो वास्तविक नभई एआई प्रविधिको दुरुपयोग गरेर बनाइएको नक्कली भिडियो हो। यस घटनालाई लिएर अभिनेत्री रुक्मिणीले कडा आपत्ति जनाउँदै कानुनी र साइबर क्राइम सेलमा उजुरी प्रक्रिया अगाडि बढाएकी छिन्।

उनले सामाजिक सञ्जालमा वक्तव्य जारी गर्दै यो भिडियो पूर्ण रूपमा नक्कली र भ्रमपूर्ण भएको स्पष्ट पारेकी छिन्। उनले भनिन्, “यस्ता भ्रामक सामग्री निर्माण र प्रचार गर्नु गैरजिम्मेवारपूर्ण काम हो र यो गोपनीयताको गम्भीर उल्लंघन हो।”

पर्दामा सधैं सीधा, भद्र र गम्भीर भूमिकामा देखिने रुक्मिणीलाई यस्तो बोल्ड अवतारमा देखेपछि सुरुमा प्रशंसकहरू निकै अचम्ममा परेका थिए। भिडियोलाई यति वास्तविक ढंगले एडिट गरिएको छ कि धेरैले यसलाई कुनै नयाँ प्रोजेक्टको सुटिङ नै ठानेका थिए। तर एआई प्रविधिको खुलासा भएपछि अहिले सामाजिक सञ्जालमा यसको व्यापक आलोचना भइरहेको छ।

हालै आयोजित ‘इन्डिया टुडे साउथ कन्क्लेव २०२५’ मा कुराकानी गर्दै रुक्मिणीले आफ्नो करियरलाई कुनै एउटा निश्चित ट्याग वा लेबलमा सिमित राख्न नचाहने बताएकी थिइन्। उनले आफ्नो ध्यान सधैं राम्रो कथा र काममा केन्द्रित रहने र दर्शकको मन छुने भूमिकाहरू गर्न चाहेको स्पष्ट पारेकी थिइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *