रुसले बनायो नयाँ इबोला खोप

डिसी नेपाल
१३ जेठ २०८३ १३:१५

काठमाडौं। अफ्रिकी महादेशमा इबोला सङ्क्रमणको जोखिम तीव्र रूपमा बढिरहेका बेला रुसले यस भाइरसको नयाँ स्ट्रेनविरुद्ध उच्च प्रभावकारी हुन सक्ने नयाँ खोप विकास गरेको दाबी गरेको छ।

दक्षिण अफ्रिकास्थित रुसी दूतावासका अनुसार रुसी वैज्ञानिकहरूले तयार पारेको उक्त नयाँ खोपले हाल अफ्रिकामा फैलिएको प्रकोपसँग जोडिएको दुर्लभ ‘बुन्डिबुग्यो’ स्ट्रेनबाट समेत पूर्ण सुरक्षा दिन सक्ने बलियो सम्भावना देखाएको छ।

दूतावासले रुसी स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोलाई उद्धृत गर्दै वैज्ञानिकहरूले इबोला भाइरसको नयाँ स्वरूपविरुद्ध खोप विकास गर्न सफलता प्राप्त गरेको जानकारी दिएको हो।

विशेषगरी कंगाे क्षेत्रमा देखिएको नयाँ संक्रमण र प्रकोपसँग सम्बन्धित बुन्डिबुग्यो स्ट्रेनविरुद्ध पनि यो खोप निकै उपयोगी हुन सक्ने दाबी रुसी पक्षको छ।

मध्य अफ्रिकामा फैलिरहेको इबोलाको नयाँ प्रकोपले अन्तर्राष्ट्रिय स्वास्थ्य निकायहरूको चिन्ता बढाइरहेका बेला रुसको यो घोषणा सार्वजनिक भएको हो।

अन्तर्राष्ट्रिय स्वास्थ्य विनियम (आइएचआर) २००५ अन्तर्गत विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले गत मे १७ मा कंगाे लोकतान्त्रिक गणतन्त्र (डीआरसी) र युगान्डामा देखिएको इबोला प्रकोपलाई ध्यानमा राख्दै वर्तमान अवस्थालाई ‘अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपतकाल’ (पीएचइआइसी) का रूपमा वर्गीकृत गरिसकेको छ।

स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्ति अनुसार अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्र (अफ्रिका सीडीसी) ले पनि कङ्गो र युगान्डामा फैलिरहेको बुन्डिबुग्यो स्ट्रेनसँग सम्बन्धित इबोला भाइरस रोगको प्रकोपलाई औपचारिक रूपमा पुष्टि गरिसकेको छ।

यसैबिच, डब्लुएचओको आइएचआर आपतकालीन समितिले गत मे २२ मा थप सतर्कताका उपायहरू सुझाउँदै विशेष अस्थायी सिफारिसहरू सार्वजनिक गरेको थियो।

समितिले बुन्डिबुग्यो भाइरस पुष्टि भएका क्षेत्रबाट आएका र अस्पष्ट ज्वरो देखिएका बिरामी यात्रुहरूको तत्काल पहिचान, मूल्याङ्कन, प्रतिवेदन र उचित व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय प्रवेश नाकाहरूमा रोग निगरानी प्रणालीलाई थप बलियो र चुस्त बनाउन आग्रह गरेको छ।

साथै, भाइरसको सङ्क्रमण देखिएका प्रभावित क्षेत्रहरूमा अति आवश्यक कामबाहेक अनावश्यक यात्रा नगर्नसमेत स्वास्थ्य क्षेत्रका विज्ञहरूले सिफारिस गरेका छन्।

प्रेस विज्ञप्ति अनुसार कङ्गो लोकतान्त्रिक गणतन्त्र र युगान्डासँग सिमाना जोडिएका छिमेकी देशहरू, विशेषगरी दक्षिण सुडानलगायतका क्षेत्रमा यो घातक रोग सहजै फैलिने जोखिम निकै उच्च रहेको प्रारम्भिक आकलन गरिएको छ।

इबोला रोग अत्यन्तै गम्भीर प्रकृतिको भाइरल रक्तस्रावी ज्वरो हो, जो इबोला भाइरसको बुन्डिबुग्यो स्ट्रेनको सङ्क्रमणबाट मानिसमा उत्पन्न हुन्छ। यो रोग उच्च मृत्युदरसँग सम्बन्धित मानिने भए पनि हालसम्म बुन्डिबुग्यो स्ट्रेनबाट हुने इबोला रोगको रोकथाम वा उपचारका लागि विश्वभर कुनै पनि खोप वा विशेष औषधिलाई औपचारिक स्वीकृति प्राप्त भइसकेको छैन।

यही संवेदनशील पृष्ठभूमिबिच रुसले गरेको नयाँ खोप विकासको दाबीलाई विश्वभरका अन्तर्राष्ट्रिय स्वास्थ्य वैज्ञानिक र समुदायले निकै चासो र महत्त्वका साथ हेरिरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *