सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठद्वारा आफ्नो नाममा भइरहेको रकम संकलन रोक्न आग्रह
काठमाडौं। सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठले आफ्नो उपचारका नाममा भइरहेको आर्थिक संकलनको कार्य तत्काल स्थगित गरिदिन अनुरोध गरेका छन्।
बोनम्यारो सम्बन्धी समस्याका कारण हाल भारतको नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एन्ड रिसर्च अस्पतालमा उपचार गराइरहेका न्यायाधीश श्रेष्ठले आज एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन्।
उनले आफ्नो उपचारप्रति चासो, चिन्ता, स्वास्थ्यलाभको कामना र सद्भाव व्यक्त गर्नुहुने सम्पूर्ण शुभेच्छुकहरू प्रति हार्दिक कृतज्ञता व्यक्त गरेका छन्।
न्यायाधीश श्रेष्ठले आफ्ना शुभेच्छुक एवं शुभचिन्तकहरूले उपचारको सन्दर्भमा स्वतःस्फूर्त रूपमा सहयोग जुटाउने हेतुले रकम संकलन गर्न थालेको खबर पाएको विज्ञप्तिमा उल्लेख छ।
यसैगरी, न्यायसेवा अधिकृत समाजले पनि न्यायपालिकामा कार्यरत सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरूलाई स्वेच्छिक रूपमा यथाशक्य आर्थिक सहयोग गर्न आह्वान गरेको विषयमा आफूलाई जानकारी भएको उनले बताएका छन्।
आफ्नो उपचारका लागि विभिन्न क्षेत्रबाट भइरहेका यी प्रयासहरू प्रति सम्मान व्यक्त गर्दै न्यायाधीश श्रेष्ठले आफ्नो विनम्र अनुरोधलाई स्वीकार गरेर रकम संकलनको कार्य पूर्ण रूपमा स्थगित गरिदिन सरोकारवाला सबैसँग अपिल गरेका छन्।
उनले आगामी दिनमा पनि यस किसिमका आर्थिक संकलनका गतिविधिहरू अगाडि नबढाइनेमा आफू पूर्ण रूपमा आशावादी रहेको धारणा विज्ञप्ति मार्फत सार्वजनिक गरेका छन्।







डिसी नेपाल







Facebook Comment