भदौ २४ को घटनाको छानबिन र भौतिक संरचनाको पुनःनिर्माणबारे संसद्‌मा सरकारको ध्यानाकर्षण

डिसी नेपाल
१३ जेठ २०८३ १३:३३

काठमाडौं। नेकपा एमालेकी सांसद टुकाभद्रा हमालले भदौ २४ गतेको घटनाबाट क्षति भएका भौतिक संरचनाहरू र देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको पुनर्निर्माणका विषयमा सरकारको स्पष्ट योजना माग गरेकी छन्।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद हमालले सो घटनाका सन्दर्भमा निष्पक्ष छानबिन प्रक्रिया अगाडि बढ्छ कि बढ्दैन भन्दै सरकारलाई प्रश्न गरिन्। उनले घटना भएको लामो समय भइसक्दा पनि क्षतिग्रस्त संरचनाहरूको पुनःनिर्माणमा ठोस प्रगति नदेखिएकोमा चिन्ता व्यक्त गरिन्।

सदनलाई सम्बोधन गर्दै सांसद हमालले भदौ २४ को घटनाको सत्यतथ्य छानबिनको अवस्था र क्षति भएका संरचनाहरू बनाउने सरकारको आगामी योजना के छ भन्ने विषयमा संसद्लाई तत्काल जानकारी गराउन माग गरिन्।

विशेष गरी देशको ऐतिहासिक धरोहरका रूपमा रहेको सिंहदरबारको पुनर्निर्माणको योजनाबारे उनले सरकारको गम्भीर ध्यानाकर्षण गराइन्।

नेपाली नागरिकले हजारौं वा थुप्रै संख्यामा नभएर देशको गरिमा बोक्ने एउटै मात्र बलियो र व्यवस्थित सिंहदरबार चाहेको उल्लेख गर्दै उनले सो ऐतिहासिक संरचना कहिलेसम्म बनिसक्छ भनी सरकारसँग स्पष्ट जवाफ माग गरेकी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *