जनप्रतिनिधि शासक होइनन्, जनताका सेवक हुन्: नेता अग्निप्रसाद सापकोटा
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका नेता अग्निप्रसाद सापकोटाले स्थानीय तहलाई जनताको पहिचान, सेवा र रूपान्तरणको मुख्य आधारका रूपमा व्याख्या गरेका छन्।
जनप्रतिनिधिहरूको एक विशेष प्रशिक्षण भेलालाई सम्बोधन गर्दै नेता सापकोटाले स्थानीय तहका जनप्रतिनिधिहरू सांसद वा शासक नभई विशुद्ध जनताका सेवक र समाज रूपान्तरणका संवाहक भएको स्पष्ट पारे।
उनले आफूहरू शासक नभएर सेवक भएको यो तथ्यलाई जनप्रतिनिधिहरूले आफ्नो कार्यशैली र व्यवहारबाटै प्रमाणित गरेर देखाउनुपर्नेमा विशेष जोड दिए। स्थानीय तहलाई पहिचानको आधार मान्दै उनले यसलाई दलाल पुँजीवादी एवं एकाधिकारवादी संस्कृतिका विरुद्ध वैचारिक लडाइँ लड्ने बलियो मोर्चाका रूपमा विकास गर्नुपर्ने धारणा राखे।
आफ्नो सम्बोधनका क्रममा नेता सापकोटाले जनप्रतिनिधिहरूलाई आफ्नो बाँकी कार्यकालमा स्थानीय तहमा गुणात्मक उपलब्धि हासिल गर्नका लागि अधिकतम प्रयास गर्न निर्देशनसमेत दिए।
उनले सुशासन, विकास र प्रभावकारी सेवा प्रवाहलाई स्थानीय तहको प्रमुख प्राथमिकताका रूपमा अघि बढाउनुपर्ने उल्लेख गर्दै यी तीनै पक्षहरू एकअर्कासँग अन्तरसम्बन्धित रहेको बताए। स्थानीय सरकारको वास्तविक प्रभावकारिता, जनविश्वास र समृद्धिको मुख्य आधार नै सुशासन र प्रभावकारी सेवा प्रवाह भएको उनको भनाइ थियो।
पछिल्लो समय शासकीय सुधारको आवश्यकता औंल्याउँदै नेता सापकोटाले वर्तमान शासन प्रणालीलाई जनमैत्री, सेवामुखी, प्रभावकारी तथा परिणाममुखी बनाउनु आजको अनिवार्य आवश्यकता भएको उल्लेख गरे।
स्थानीय तहबाट प्रदान गरिने सेवा प्रवाहलाई छिटो, सरल र आम नागरिकको पहुँचयोग्य बनाउनुपर्नेमा जोड दिँदै उनले समाजमा व्याप्त भ्रष्टाचार, अनियमितता, ढिलासुस्ती तथा प्रशासनिक झन्झटहरूलाई पूर्ण रूपमा नियन्त्रण गर्ने दिशामा ठोस र कडा कदम चाल्न जनप्रतिनिधिहरूलाई आग्रह गरे।







डिसी नेपाल







Facebook Comment