नेपाली कांग्रेस संसदीय दलको बैठक बिहीबार
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बिहीबार बस्ने भएको छ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहान साढे ११ बजे बस्ने गरी बैठक बोलाइएको हो।
बैठकमा सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गर्न लागेको बजेट, संसदीय समितिहरूको जिम्मेवारी र संसद्मा पार्टीको भूमिका लगायतका विषयमा छलफल हुने कांग्रेसकी प्रमुख सचेतक बासना थापाले जानकारी दिइन्। संसदीय दलको बैठकपछि हुने निर्णयबारे पार्टीलाई आधिकारिक रूपमा जानकारी गराइने उनको भनाइ छ।
सरकारले आगामी आर्थिक वर्षको बजेट यही जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्दै छ।
प्रमुख सचेतक थापाका अनुसार सरकारले यसपटक बजेट निर्माणका क्रममा दलका नेताहरूसँग आवश्यक राय–सुझाव लिएको छैन। यसका साथै सरकारले प्रतिनिधिसभा सदस्यहरूबीच योजना पेस गर्ने विषयमा प्रत्यक्ष र समानुपातिक सांसदहरूलाई विभेद गरेको उनले आरोप लगाइन्।
‘समानुपातिक सांसदलाई एउटा र प्रत्यक्षतर्फका सांसदलाई ३ वटा मात्र योजना पेस गर्न भनिएको थियो,’ उनले भनिन्, ‘त्यो सीमालाई अस्वीकार गर्दै हामीले १० देखि २० वटासम्म योजना बुझाइसकेका छौँ। वर्तमान सरकारले प्रत्यक्ष र समानुपातिक सांसदहरूलाई गर्ने व्यवहारमै विभेद देखिएको छ।’







डिसी नेपाल







Facebook Comment