पूर्वगृहमन्त्री सुधन गुरुङसँग छानबिन समितिले लियो बयान, प्रतिवेदन लेखन अन्तिम चरणमा
काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङमाथि लागेको आर्थिक अनियमितताको आरोपबारे छानबिन गर्न गठित समितिले उनीसँग बयान लिन सुरु गरेको छ। छानबिन समितिले बुधबार गुरुङलाई बोलाएर प्रारम्भिक सोधपुछ गरेको हो।
दीपक भट्टको स्वामित्वमा रहेका ‘लिबर्टी माइक्रो इन्स्योरेन्स’ र ‘स्टार माइक्रो इन्स्योरेन्स’ को संस्थापक सेयर खरिद गरेको विषयमा गुरुङसँग बयान लिइएको समितिका एक सदस्यले जानकारी दिए। “हामीले उहाँलाई बोलाएर प्रारम्भिक सोधपुछ गरेका छौँ, बयान अझै पूर्ण रूपमा सकिएको छैन,” ती सदस्यले भने।
भट्टको कम्पनीमा गुरुङको नाममा ५० लाख रुपैयाँ बराबरको सेयर फेला परेपछि र सो रकमको स्रोतमाथि प्रश्न उठेपछि उनले गत वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। गुरुङले भने आफूले सापटी लिएर उक्त सेयर किनेको दाबी गर्दै आएका छन्। समितिले अनुसन्धान नसकिएकाले गुरुङलाई जुनसुकै बेला पुनः बयानका लागि बोलाउन सकिने जानकारी गराएको छ।
मन्त्रिपरिषद्को गत वैशाख २८ गतेको बैठकले पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो। १५ दिनको कार्यअवधि तोकिएको समितिले आफ्नो छानबिन अन्तिम चरणमा पुगेको दाबी गरेको छ।
भण्डारी नेतृत्वको समितिमा महालेखा नियन्त्रक शोभकान्त पौडेल र महान्यायाधिवक्ताको कार्यालयका सह-न्यायाधिवक्ता अच्युतमणि न्यौपाने सदस्य रहेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment