महाकाली नदीमा सुरक्षा निकायको विपद् उद्धार पूर्वतयारी अभ्यास
महेन्द्रनगर। नेपाली सेनाको अगुवाइमा कञ्चनपुरको भीमदत्त नगरपालिका-१२ ऐरीस्थित महाकाली नदीमा विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी ‘अभ्यास मनसुन-६’ सम्पन्न भएको छ।
नेपाली सेनाको बराहदल गुल्म भगतपुर ब्यारेकको आयोजनामा भएको उक्त कार्यक्रममा विपद्का बेला गरिने उद्धार तथा क्षति न्यूनीकरणसम्बन्धी विभिन्न नमूना अभ्यासहरू स्थानीय नागरिकसामु प्रस्तुत गरिएको थियो।
बराहदल गुल्मका गुल्मपति सेनानी अशोक शाहीले महाकाली नदी क्षेत्रमा सम्भावित बाढी तथा प्राकृतिक विपद् व्यवस्थापनका लागि सबै सुरक्षा निकाय एकत्रित भएको बताए।
उनले विपद्को समयमा तत्काल उद्धार गर्नका लागि सेनाको प्राविधिक टोली आवश्यक उपकरणसहित सधैं तयारी अवस्थामा रहने जानकारी दिँदै सर्वसाधारणलाई सचेत गराउने उद्देश्यले नै यो अभ्यास गरिएको प्रष्ट पारे। यस नमूना अभ्यासमा नेपाली सेनासँगै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको उद्धार टोलीले सामूहिक रूपमा आफ्नो कौशल प्रदर्शन गरेका थिए।
उक्त कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले महाकाली नदी किनारको क्षेत्र बाढी तथा विपद्को उच्च जोखिममा रहेकाले स्थानीय नागरिक वर्षातको समयमा विशेष सजग हुनुपर्नेमा जोड दिए।
महाकाली नदीमा पौडी खेल्ने र रमाइलो गर्ने क्रममा धेरै नागरिकले ज्यान गुमाउनुपरेको दुःखद यथार्थ स्मरण गराउँदै प्रमुख बोहराले वर्षातका बेला ज्यान जोखिममा राखेर बाढीको भेलमा दाउरा संकलन गर्ने जस्ता असुरक्षित गतिविधि नगर्न सबैलाई आग्रह गरे।
विपद् पूर्वतयारीको यो महत्त्वपूर्ण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहरा, प्रमुख जिल्ला अधिकारी मदन कोइराला र श्री नं. २५ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी विजितराज रेग्मीसहित जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुको उल्लेख्य सहभागिता रहेको थियो।
सेनाद्वारा आयोजित यस नमूना अभ्यास एवं सचेतना कार्यक्रममा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) लगायतका स्थानीय गैरसरकारी संस्थाहरुले समेत सहकार्य गरेका थिए।







डिसी नेपाल







Facebook Comment