जनमुखी सेवा र सुशासनमार्फत समृद्धिको लक्ष्य भेटाउनु आजको आवश्यकता: राष्ट्रपति पौडेल

डिसी नेपाल
१५ जेठ २०८३ ७:३२

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट उत्तरदायी र जनमुखी सेवा प्रवाहलाई सुदृढ बनाउँदै सुशासन, विकास र समृद्धिको लक्ष्य प्राप्ति गर्नु आजको मुख्य राष्ट्रिय आवश्यकता भएको बताएका छन्।

१९औँ गणतन्त्र दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास हासिल गर्न राज्यका सबै तहका सरकार, निजी क्षेत्र र नागरिक समाजबीच बलियो सहकार्य हुनुपर्नेमा जोड दिएका छन्।

शुभकामना सन्देशमार्फत आह्वान गर्दै उनले भनेका छन्, “गणतन्त्र दिवसले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय हित र स्वाभिमानलाई अक्षुण्ण राखी दिगो, फराकिलो र समन्यायिक आर्थिक वृद्धि हासिल गर्दै सभ्य, सुसंस्कृत तथा समुन्नत समाज निर्माण गर्न आ-आफ्नो क्षेत्रबाट योगदान पुर्‍याउनका लागि सम्पूर्ण राजनीतिक दल, नागरिक समाज तथा सम्बद्ध सबैमा हार्दिक आह्वान गर्दछु।”

नेपाली जनताको लामो संघर्ष र बलिदानको प्रतिफलस्वरूप स्थापित जननिर्वाचित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपालमा गणतन्त्र घोषणा गरेको थियो। सोही ऐतिहासिक दिनको सुखद् स्मरण गर्दै प्रत्येक वर्ष जेठ १५ गतेलाई देशभर गणतन्त्र दिवसका रूपमा मनाउने गरिएको छ।

यसै अवसरमा राष्ट्रपति पौडेलले गणतन्त्र स्थापनाका लागि विभिन्न कालखण्डमा भएका आन्दोलनहरूको नेतृत्व गर्ने राजनीतिक दलका आदरणीय नेताहरूप्रति उच्च सम्मान व्यक्त गर्दै आन्दोलनमा सहभागी आम नागरिक, जनसमुदाय एवं राजनीतिक कार्यकर्ताहरूको अमूल्य योगदानको प्रसंशा गरेका छन्।

शहीदहरूको स्मरण गर्दै राष्ट्रपति पौडेलले भनेका छन्, “लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात-अज्ञात शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। आजको यस ऐतिहासिक दिवसले हामी सबै नेपालीहरूबीच आपसी विश्वास, सहकार्य र राष्ट्रिय एकताको भावना अझ सुदृढ बनाउँदै जाओस् भन्ने कामना व्यक्त गर्दछु।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *