बाजुरामा भारी वर्षाका कारण व्यापक क्षति: जलविद्युत् र सडक अवरुद्ध, जनजीवन प्रभावित
बाजुरा । बाजुरा जिल्लाका ९ वटै स्थानीय तहमा हिजोदेखि जारी भारी वर्षाका कारण विभिन्न ठाउँमा व्यापक जनधनको क्षति भएको छ। अविरल वर्षाले जिल्लाका धेरै क्षेत्रमा प्राकृतिक विपत्ति निम्त्याएको छ, जसमध्ये जगन्नाथ गाउँपालिका र बुढिनन्दा नगरपालिका सबैभन्दा बढी प्रभावित भएका छन्।
जगन्नाथ गाउँपालिका वडा नं. १ को पिलुचौर क्षेत्रमा वर्षा र पहिरोले ठुलो संकट ल्याएको छ। सो क्षेत्रमा रहेको बड्डीगाड लघु जलविद्युत् परियोजनामा बाढी र पहिरोले व्यापक क्षति पुर्याएको छ।
नहरको माथिल्लो भागबाट खसेको पहिरोसँगै बगेर आएको ढुङ्गा, गिट्टी र बालुवाले परियोजनाको फोरबे, ग्राभेल ट्र्याप, ७३५ मिटर लामो नहर तथा इन्टेक साइडको करिब १२० मिटर अर्थेन कुलो पूर्ण रूपमा पुरेको छ भने करिब ४० मिटर नहर पूर्ण रूपमा नष्ट भएको छ।
भारी वर्षाका कारण बुढिनन्दा नगरपालिकामा पनि ठुलो भौतिक क्षति भएको छ । त्यहाँका वडा नं. १ र ६ लगायतका विभिन्न स्थानमा वर्षा र बाढीले खेतीयोग्य जमिनलाई बगरमा परिणत गरिदिएको छ।
बुढिनन्दा नगरपालिकाका नगर प्रमुख जनक बोहराका अनुसार विशेष गरी साउनेगाउँ, लाटुबस्ती, मोटेला र पार्तोला लगायतका क्षेत्रमा रहेका उब्जाउ खेतबारीहरू कामै नलाग्ने गरी बाढीले नष्ट पारेको छ। विपत्तिको यस घडीमा नगर सरकार तत्काल क्षतिको विवरण संकलन गर्न र जनजीवनलाई सामान्य अवस्थामा फर्काउन प्रतिबद्ध रहेको नगर प्रमुख बोहराले जानकारी दिएका छन्।
बाढी र पहिरोका कारण पिलुचौर-ढाडाकोट-कोल्टी सडक खण्ड पूर्ण रूपमा क्षतिग्रस्त भएर यातायात सेवा ठप्प भएकोमा नगरपालिकाले तत्काल जेसिबी परिचालन गरी सडक खुलाएर यातायात सञ्चालनमा ल्याएको छ।
यद्यपि, जिल्लाका विभिन्न भागमा विद्युत्, सडक र खानेपानी जस्ता आधारभूत सेवाहरू अझै अवरुद्ध रहेका कारण स्थानीय बासिन्दाको दैनिक जनजीवन अत्यन्तै कष्टकर बनेको छ । बाजुराका ९ वटै स्थानीय तहमा अहिले पनि वर्षा जारी रहेको छ ।
यस प्राकृतिक विपत्तिबाट प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहत व्यवस्थापनका लागि प्रदेश र संघीय सरकारसँग तत्काल आवश्यक आर्थिक, प्राविधिक तथा अन्य सहयोग उपलब्ध गराइदिन पीडित स्थानीयहरूले जोडदार माग गरेका छन् ।







डिसी नेपाल







Facebook Comment