विजय बराल घाइते भएपछि फिल्म ‘सिन्दूर जात्रा’को छायांकन रोकियो
काठमाडौं । नेपाली चलचित्र ‘सिन्दूर जात्रा’को छायांकनका क्रममा प्रमुख अभिनेता विजय बराल घाइते भएका छन्। पर्वतको कुस्मा नगरपालिका–१४ स्थित आर्थर डाँडाखर्कमा घोडाचढीको दृश्य खिच्ने क्रममा घोडाबाट खसेर उनी घाइते भएका हुन्।
चलचित्रका निर्देशक सरोज पौडेलका अनुसार दुर्घटनामा अभिनेता बरालको दाहिने हात भाँचिएको छ। उनलाई तत्काल पोखरास्थित मेट्रो सिटी अस्पताल लगिएको र अहिले त्यहीँ उपचार भइरहेको छ।
फिल्ममा विजय मुख्य भुमिकामा रहेकाले उनी घाइते भएसँगै निर्माण टोलीले छायांकन स्थगित गरेको छ। हालसम्म चलचित्रको ५० प्रतिशत छायांकन पूरा भइसकेको जानकारी निर्देशक पौडेलले दिए। मुख्य कलाकारको उपचार र स्वास्थ्य लाभका लागि निर्माण युनिट हाललाई काठमाडौं फर्किने तयारीमा छ।
अभिनेता बराल पूर्ण रूपमा निको भएपछि आगामी असार मध्यतिरबाट मात्रै बाँकी छायांकन सुरु गरिने निर्माण पक्षले जनाएको छ। सारङ्गी फिल्म्सको प्रस्तुतिमा निर्माण भइरहेको यस चलचित्रमा विजय बरालका साथै अञ्जना बराइली र विनोद न्यौपानेको पनि मुख्य अभिनय रहेको छ।







डिसी नेपाल







Facebook Comment