विद्युत् र विद्युतीय गाडीमा कर थोपरेर सरकार उल्टो बाटोमा हिँड्यो, तत्काल गल्ती सच्याइयोस्: शंकर पोखरेल
काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले ऊर्जा क्षेत्रको विकास र त्यसको उपभोगका सवालमा सरकार उल्टो बाटोमा हिँडेको गम्भीर आरोप लगाएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले सरकारको यो कदमप्रति कडा आपत्ति जनाएका हुन्।
विगतमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि र अभावबाट बच्न भन्दै हचुवाका भरमा हप्तामा दुई दिन सार्वजनिक बिदा घोषणा गर्ने सरकारले अहिले आएर ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्तामाथि मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्णय गरेकोमा उहाँले तीव्र आक्रोश पोखेका छन्। ‘आखिर यस्तो अविवेकी निर्णय कसको हितमा छ?’ भन्दै उनले सरकारमाथि प्रश्न उठाएका छन्।
नेपाल जलस्रोतमा विश्वकै धनी राष्ट्रमध्ये एक भएको उल्लेख गर्दै महासचिव पोखरेलले स्वदेशी ऊर्जा उत्पादन र उपभोगलाई प्रोत्साहन गर्नुपर्ने संवेदनशील समयमा विद्युत् प्रयोगकर्तामाथि थप करको भार थोपर्नु नेपाली जनतालाई आफ्नै प्राकृतिक स्रोतको उपयोगबाट निरुत्साहित गर्ने कदम भएको जिकिर गरे।
विश्वबजारमा पेट्रोलियम पदार्थको अभाव र मूल्यवृद्धि भइरहेका बेला ‘ग्रिन इनर्जी’ (हरित ऊर्जा) लाई प्रवर्द्धन गर्नुको साटो विद्युतीय गाडीको प्रयोगलाई समेत दुरुत्साहन गर्ने गरी बजेटमार्फत करको भार थोपरिएको उनको भनाइ छ।
“यदि बजेटको आकार बढाउने नाममा आयस्रोत देखाउन मात्रै यस्तो आत्मघाती निर्णय हुन पुगेको हो भने सरकारले तत्काल आफ्नो गल्ती सच्याउनु पर्दछ,” महासचिव पोखरेलले भनेका छन्, “सरकार आफैँले नाफा लिएर बिक्री गरेको विद्युत् खपत वृद्धि हुँदा भ्याट लगाएर जनताको ढाड सेक्ने होइन, बरु आयात प्रतिस्थापन र उत्पादनशील क्षेत्रमा त्यसको अधिकतम उपयोग गर्न प्रेरित गर्नु पर्दछ।”







डिसी नेपाल







Facebook Comment