ऐन महर, ध्रुव र आर्यन राईले अमर्यादित व्यवहार देखाएको भन्दै सभामुखले गराए सचेत
काठमाडौं। आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले नेकपा (एमाले) का सांसद ऐनबहादुर महर तथा श्रम संस्कृति पार्टीका सांसदहरू ध्रुवराज राई र आरेन राईलाई संसदीय मर्यादा कायम नगरेको भन्दै सचेत गराएका छन् ।
बैठकका क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो सम्बोधन र भनाइ राखिसकेपछि सभामुखले समय नदिएको अवस्थामा पनि ती सांसदहरू उठेर अस्वाभाविक र अमर्यादित व्यवहारमा प्रस्तुत भएपछि सभामुख अर्यालले उनीहरूको ध्यानाकर्षण गराउँदै भाषा सुधार्न निर्देशन दिएका हुन् ।
संसद्मा बोल्दै सभामुख अर्यालले भने: “मैले मान्य सदस्यहरूले मागे अनुसारको आकस्मिक समय दिइरहेको छु र त्यसको व्यवस्थापन पनि गरिरहेको छु। तर, मान्य सदस्यहरूले सदनमा देखाउनुभएको व्यवहारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। म मान्य सदस्यहरूलाई आफ्नो भाषा र व्यवहार सुधार्न विशेष ध्यानाकर्षण गराउँछु।”
आइतबारको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा सम्बोधन गरेर आआफ्नो सिटमा फर्किएका थिए । प्रधानमन्त्रीको जवाफ सकिएलगत्तै विपक्षी तथा अन्य दलका सांसदहरूले थप प्रश्न र स्पष्टीकरणका लागि समय माग गरेका थिए । तर, सभामुखले अर्को कार्यसूचीमा जान खोज्दा अनुमति र समय बिना नै सांसदहरू महर र राई द्वयले उठेर आक्रोशित रूपमा अभिव्यक्ति दिन थालेपछि संसद्मा केही बेर होहल्ला र अस्वाभाविक दृश्य देखिएको थियो ।
संसदीय नियम र स्थापित प्रक्रियाभन्दा बाहिर गएर अमर्यादित शैलीमा प्रस्तुत भएको भन्दै सभामुख अर्यालले बैठकलाई मर्यादित बनाउन र संसदीय अनुशासनको पालना गर्न सबै सांसदहरूलाई आग्रह गरे । सभामुखको रुलिङपछि सत्तापक्ष र प्रतिपक्षका केही सांसदहरूबीच सवालजवाफ समेत भएको थियो ।







डिसी नेपाल







Facebook Comment