प्रतिनिधिसभामा विपक्षीको उग्र नाराबाजी र तोडफोड, कुर्सी फ्याँकेर निरन्तर वेल घेराउ
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा विपक्षी दलका सांसदहरूको अवरोध र तोडफोडका कारण तनाव सिर्जना भएको छ। यसअघि विपक्षीहरूकै अवरोधका कारण स्थगित भई पुनः सुरु भएको बैठकमा समेत स्थिति नियन्त्रण बाहिर पुगेको हो।
बैठक प्रारम्भ हुनासाथ विपक्षी दलका सांसदहरूले रोस्टम र वेल घेराउ गर्दै उग्र नाराबाजी सुरु गरेका थिए। विरोधकै क्रममा केही आक्रोशित सांसदहरूले संसद्भित्रै कुर्सीसमेत फ्याँकेका छन्। मर्यादापालकहरूलाई धकेल्दै सभामुखको आसन नजिकै पुगेर विपक्षी सांसदहरूले सभामुखविरुद्ध समेत चर्को नाराबाजी गरिरहेका छन्।
प्रतिनिधिसभा नियमावलीमाथिको दफावार छलफल सकिएपछि सभामा संशोधन प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने संसद्को तयारी थियो। तर, विपक्षी दलका सांसदहरूले उक्त नियमावलीलाई संसद्को पूर्ण बैठकबाट सिधै निर्णयार्थ नलगी संसदीय समितिमा दफावार छलफलका लागि पठाइनुपर्ने माग राख्दै आएका छन्।
सभामुखले बैठकलाई अगाडि बढाउन खोजे पनि विपक्षीको निरन्तरको वेल घेराउ, नाराबाजी र तोडफोडका कारण संसद् कार्यसूचीमा प्रवेश गर्न सकेको छैन। तनावग्रस्त परिस्थितिका कारण संसद् भवनभित्र ठूलो संख्यामा मर्यादापालकहरू परिचालन गरिएको छ।







डिसी नेपाल







Facebook Comment