प्रधानमन्त्रीको सीमासम्बन्धी बयानप्रति नेपाली कांग्रेसको गम्भीर आपत्ति
काठमाडौं। नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहले संसदमा नेपाल-भारत सीमाका विषयमा दिनुभएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ। कांग्रेसले प्रधानमन्त्रीको उक्त भनाइलाई राष्ट्रहित विपरीत, गैरजिम्मेवार र कूटनीतिक मर्यादाको ठाडो उल्लंघन भएको दाबी गरेको छ।
कांग्रेसका प्रवक्ता देवराज चालीसेद्वारा आइतबार जारी विज्ञप्तिमा प्रधानमन्त्रीले प्रतिनिधिसभाको बैठकमा “हामीले पनि धेरै ठाउँमा सीमा मिचेका छौँ” भनी दिनुभएको अभिव्यक्तिले नेपालको सार्वभौमिकता, राष्ट्रिय अखण्डता र नेपालको स्थापित राष्ट्रिय अडानलाई जगैदेखि कमजोर बनाएको उल्लेख गरिएको छ। प्रधानमन्त्रीको यस्तो दाबीले नेपालको संवैधानिक नक्सा, ऐतिहासिक तथ्य तथा आम नेपालीको राष्ट्रिय भावनामाथि गम्भीर आघात पुर्याएको कांग्रेसको ठहर छ। लिम्पियाधुरा, लिपुलेक र कालापानीसहित नेपाली भूमिमाथि रहेको अतिक्रमणको विषयलाई ओझेलमा पार्ने र कमजोर बनाउने गरी मुलुकको सरकार प्रमुखबाटै यस्तो अभिव्यक्ति आउनु अत्यन्तै दुःखद भएको विज्ञप्तिमा जनाइएको छ।
कांग्रेसका अनुसार राष्ट्रिय गौरव र सीमा जस्तो संवेदनशील विषयमा संसद्को रोष्ट्रमबाटै यस्तो अपरिपक्व टिप्पणी आउँदा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको दाबी र कूटनीतिक विश्वसनीयता सधैँका लागि कमजोर बन्ने जोखिम रहन्छ।
दुई देशबीचको सीमा समस्या समाधानका लागि स्थापित कूटनीतिक संयन्त्रहरू क्रियाशील रहेका बेला त्यसलाई पूर्ण रूपमा बेवास्ता गर्दै प्रधानमन्त्रीले टिप्पणी गर्नुले नेपालको कूटनीतिक परिपक्वतामाथि नै अन्तर्राष्ट्रिय स्तरमा ठूलो प्रश्न उठाएको कांग्रेसले विज्ञप्तिमा उल्लेख गरेको छ।
यसै पृष्ठभूमिमा नेपाली कांग्रेसले प्रधानमन्त्री शाहले संसद्मा व्यक्त गरेको धारणा वर्तमान सरकारको आधिकारिक दृष्टिकोण हो वा उनको व्यक्तिगत सनक मात्र हो भन्ने विषयमा अविलम्ब स्पष्ट पार्न सरकारसँग जोडदार माग समेत गरेको छ।







डिसी नेपाल







Facebook Comment