भारतसँगको सम्बन्धमा रवि लामिछानेको नयाँ ‘रोडम्याप’
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीचको परम्परागत सम्बन्धलाई भूराजनीतिक टकरावबाट मुक्त गर्दै पूर्ण रूपमा ‘विकास कूटनीति’ र आर्थिक साझेदारीमा केन्द्रित गर्नुपर्नेमा जोड दिएका छन्।
भारतीय अंग्रेजी दैनिक हिन्दुस्तान टाइम्समा एक विशेष आलेख प्रकाशित गर्दै प्रधानमन्त्री लामिछानेले नेपालको नयाँ राजनीतिक नेतृत्व विगतका असमझदारी र पुरानो एजेन्डाको भारीबाट मुक्त रहेको स्पष्ट पारेका हुन्।
नेपालमा गैर-राजनीतिक पृष्ठभूमि र युवा व्यावसायिक व्यक्तिहरू आबद्ध दलले स्थापनाको चार वर्षभित्रै संसद्मा दुई-तिहाइ नजिकको बहुमत हासिल गर्नु र विश्वकै कान्छो प्रधानमन्त्री निर्वाचित हुनु राजनीतिक इतिहासमै असाधारण घटना भएको उनले उल्लेख गरे।
सडक हिंसा वा सैन्य कूमार्फत नभई शान्तिपूर्ण मतपेटिका क्रान्ति (ब्यालट बक्स रेभोलुसन) बाट नेपालले लोकतन्त्रको सुदृढीकरण गरेको सन्देश दिँदै उनले छिमेकी भारतमा यसबारे उत्सुकता हुनु स्वाभाविक भएको बताए। रास्वपाले कुशासन र पुरानो राजनीतिक बेथिति विरुद्ध नागरिक आक्रोश र आशालाई समेटेर बलियो जनादेश पाएको उनको भनाइ छ।
‘विगतको भारी र असमझदारीबाट मुक्त छौँ’
लामिछानेले नेपालको परराष्ट्र नीतिलाई रूपान्तरण गर्न वर्तमान सरकारसँग सबैभन्दा ठूलो सम्पत्ति रहेको दाबी गरे। विगतका नेताहरूले गरेका भित्री सहमति वा पुराना पूर्वाग्रहको भारी आफूहरूले नबोकेकाले भारत र विश्वलाई खुला हृदय र स्पष्ट नजरले हेर्ने उनले उल्लेख गरे।
नेपाल-भारत सम्बन्ध केवल दुई देशको सीमामा मात्र सीमित नभएर प्राचीन एवं गौरवशाली सभ्यताको साझा हिस्सा भएको प्रस्ट पार्दै उनले जनकपुर-अयोध्या, पशुपतिनाथ-केदारनाथ र लुम्बिनी-बोधगयाको सम्बन्धले यसलाई जीवन्त राखेको बताए।
पछिल्ला दशकमा भारतले आर्थिक क्षेत्रमा हासिल गरेको तीव्र विकास र कर्मचारीतन्त्रीय अड्चनहरूबाट मुक्त हुँदै विश्वको ठूलो आर्थिक शक्ति बनेको कदमलाई नेपालले सम्मान गर्ने उनले लेखेका छन्। भारतको यही विकास यात्रामा नेपाल साझेदार बन्न चाहेको लामिछानेको भनाइ छ।
सीमा मात्र होइन, अर्थतन्त्र जोड्ने रेलवे र डिजिटल कोरिडोर
भारतमा दैनिक १५ किलोमिटर रेलमार्ग विस्तार भइरहँदा प्रस्तावित रक्सौल-काठमाडौं रेलमार्ग केवल १५० किलोमिटर मात्र रहेको चर्चा गर्दै लामिछानेले यो सञ्जाल जोडिएकै दिन दुई देशबीचको व्यापार, पर्यटन र ढुवानीमा क्रान्ति आउने विश्वास व्यक्त गरे।
नेपालले भारतको केन्द्र सरकारसँग मात्र नभई विभिन्न प्रान्तीय राज्यहरूको आर्थिक विकासबाट पनि फाइदा लिन चाहेको उनले स्पष्ट पारे।
नेपालले दिल्ली, मुम्बई र बैंगलुरु जस्ता समृद्ध सहरहरूबाट पोखरा र लुम्बिनीका लागि सीधा उडान चाहेको उल्लेख गर्दै उनले काठमाडौं र बैंगलुरुबीच ‘डिजिटल कोरिडोर’ निर्माण गर्न सकिने अवधारणा अघि सारे।
यस्तै, गुजरातको औद्योगिक पूर्वाधारबाट प्रेरित भई सीमा क्षेत्रमा रासायनिक मल कारखाना स्थापना गर्न तत्काल सहकार्य गर्न सकिने र भारतका स्थापित शिक्षण संस्थाहरू जस्तै ‘आईआईटी’ र ‘एइम्स’ लाई नेपालमा स्वागत गर्न सरकार तयार रहेको उनले स्पष्ट पारे। युवा जनशक्ति, स्वच्छ ऊर्जा र डिजिटल भुक्तानीका क्षेत्रमा भारतीय प्राविधिक प्रणाली (इकोसिस्टम) सँग मिलेर काम गर्ने नेपालको योजना रहेको छ।
हाइड्रोपावर र व्यापारिक सुगमता
नेपालको जलविद्युत क्षमता अब घरेलु उपयोगमा मात्र सीमित नरहेर उदयमान भारतका औद्योगिक करिडोरहरूलाई उर्जा दिने स्वच्छ र हरित इन्जिन बन्न सक्ने उनले लेखेका छन्।
खुद्रा व्यापार वा मेसिनरी सामानको ओसारपसार अब कर्मचारीतन्त्रीय ढिलासुस्तीको चपेटामा पर्न नहुने भन्दै उनले एकीकृत जाँच चौकी (आईसीपी) र आधुनिक पारगमन कोरिडोरमार्फत सीमालाई सहज पुलमा परिणत गर्नुपर्नेमा जोड दिए।
क्रिकेटको प्रसंग जोड्दै उनले नेपाली खेलाडी र नेपाली रंगशालाहरूलाई इन्डियन प्रिमियर लिग (आईपीएल) को फ्रेन्चाइजीमा कसरी समाहित गर्न सकिन्छ भन्नेबारे आफूहरूले गम्भीरतापूर्वक सोचिरहेको उल्लेख गरे।
विश्वासको जग र ऐतिहासिक अवसर
कृषि, स्वास्थ्य, साइबर सुरक्षा र विपद् व्यवस्थापन जस्ता क्षेत्रमा सहकार्य बढाउन पारस्परिक विश्वास नै मुख्य जग भएको उनको तर्क छ। “मुख्य समस्याहरूलाई कार्पेटमुनि लुकाएर साँचो मित्रता हुन सक्दैन,” भन्दै लामिछानेले इतिहास र तथ्यका आधारमा सीमा तथा अन्य पुराना विवादहरू राजनीतिक दाउपेचभन्दा माथि उठेर संवादमार्फत हल गर्नुपर्ने बताए।
स्थिर र समृद्ध नेपाल भारतको उत्तरी सीमाका लागि बलियो रक्षाकवच हुने भन्दै नेपालको आर्थिक विकास भारतको रणनीतिक आवश्यकता समेत भएको उनले प्रस्ट पारे।
सन् २०२६ को यो समय नेपाल-भारत सम्बन्धलाई पूर्ण रूपमा नवीकरण गर्ने ऐतिहासिक र सबैभन्दा अनुकूल अवसर भएको लामिछानेले उल्लेख गरे।
सन् २०१४ अगस्ट ३ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल संसद्मा सम्बोधन गर्दै सीमाहरू अवरोध नभई पुल बन्नुपर्ने र सम्बन्ध कागजातमा भन्दा जनस्तरमा बलियो हुनुपर्ने भनी व्यक्त गरेको भावनालाई स्मरण गर्दै लामिछानेले अब पुरानो सद्भाव र विश्वासको वातावरणमा फर्कनुको विकल्प नभएको बताए।
नेपालको नयाँ नेतृत्व राजनीतिक दाउपेचमा भन्दा संस्थागत कार्यसम्पादन र पारदर्शितामा विश्वास गर्ने भएकाले पुराना मतभेदहरू पन्छाएर साझा र उज्ज्वल भविष्य निर्माण गर्न नेपाल पूर्ण इमानदारिताका साथ तयार रहेको उनले लेखेका छन्।







डिसी नेपाल







Facebook Comment