सुदूरपश्चिमका मुख्यमन्त्री शाहविरुद्ध आफ्नै दलका बहुमत सांसदद्वारा अविश्वासको प्रस्ताव दर्ता
धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहविरुद्ध उनकै दल नेपाली कांग्रेसको संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता भएको छ। मुख्यमन्त्री शाह संसदीय दलका नेता समेत हुन्।
दलभित्र आन्तरिक असन्तुष्टि चुलिँदै गएपछि कांग्रेसका बहुमत सदस्यहरूले एकजुट भएर संसदीय दलमा नेताविरुद्ध अविश्वासको प्रस्ताव औपचारिक रूपमा दर्ता गराएका हुन्।
सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेसका कुल १८ जना सांसदहरू प्रतिनिधित्व गर्छन्। तीमध्ये सांसद प्रकाश देउवा लामो समयदेखि विदेशमावैदेशिक भ्रमणका क्रममा अमेरिकामा रहँदै आएका छन्।
हाल नेपालमा उपलब्ध रहेका बाँकी १७ जना सांसदहरूमध्ये बहुमत सदस्यहरूले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको संसदीय दल सम्बद्ध एक कांग्रेस सांसदले जानकारी दिएका छन्। उनका अनुसार उपलब्ध १७ मध्ये ९ जना सांसदहरूले हस्ताक्षर गरी मुख्यमन्त्री शाहविरुद्ध संसदीय दलमा प्रस्ताव दर्ता गराएका हुन्।
यसअघि पनि कांग्रेसकै संस्थापन र इतर समूहका केही सांसदहरूले मुख्यमन्त्री शाहको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै निरन्तर राजीनामा माग गर्दै आएका थिए। आन्तरिक दबाब बढ्दै गएपछि मुख्यमन्त्री शाहले आफूविरुद्ध बहुमत सदस्यहरूको समर्थन नरहेको अवस्थामा पद छाड्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए।
मुख्यमन्त्रीको सोही चुनौती र अभिव्यक्तिपछि असन्तुष्ट पक्षले आन्तरिक रूपमा हस्ताक्षर संकलन अभियान तीव्र पारेको थियो। आफ्नै दलका बहुमत सांसदहरू विपक्षमा उभिएपछि मुख्यमन्त्री शाहको नेतृत्व संकटमा परेको छ भने सुदूरपश्चिम प्रदेशको राजनीतिले नयाँ मोड लिएको छ।







डिसी नेपाल







Facebook Comment