नारायणहिटी राजदरबार हत्याकाण्डको २५ वर्ष पूरा: इतिहासको गर्भमै रह्यो सत्य
काठमाडौं। नेपालको आधुनिक इतिहासलाई पूरै नयाँ र अप्रत्याशित मोडमा पुर्याउने गरी भएको बीभत्स ‘नारायणहिटी राजदरबार हत्याकाण्ड’ घटेको २५ वर्ष पूरा भएको छ।
वि.सं. २०५८ साल जेठ १९ गते शुक्रबारको त्यो भयावह रात, जसले तत्कालीन राजा वीरेन्द्र वीर विक्रम शाहको सम्पूर्ण वंशनाश गर्यो, त्यसको २५ औँ स्मृति दिवसका अवसरमा देशभर विभिन्न कोणबाट यस ऐतिहासिक घटनाको गम्भीर स्मरण र समीक्षा भइरहेको छ।
आजभन्दा ठीक २५ वर्षअघि नारायणहिटी दरबारभित्र भएको उक्त पारिवारिक जमघटमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन र राजकुमारी श्रुतीसहित राजपरिवारका १० सदस्यको सामूहिक हत्या भएको थाहा पाउँदा संसारभर रहेका नेपाली स्तब्ध भएका थिए।
उक्त अभूतपूर्व घटनाले तत्कालीन समयमा नेपाललाई मात्र नभई सम्पूर्ण विश्वलाई नै हल्लाएको थियो।
शाहवंशीय राजपरिवारमा वर्षौँदेखि चल्दै आएको परम्परा अनुसार महिनाको दुई पटक शुक्रबारका दिन नजिकका आफन्तहरू भेटघाट गर्ने र पारिवारिक भलाकुसारी गर्ने क्रममा ०५८ जेठ १९ गते नारायणहिटी दरबारको त्रिभुवन सदनमा नियमित पारिवारिक जमघट (रोयल डिनर) आयोजना गरिएको थियो।
रात्रिकालीन खानपिन र हांसखेल चलिरहेकै बेला अचानक राति करिब ९:०० बजेतिर अत्याधुनिक स्वचालित हतियारसहित सैनिक पोसाकमा सजिएका युवराज दीपेन्द्र बैठक कोठामा प्रवेश गरेर अप्रत्यासित घटना घटाएको विभिन्न प्रतिवेदनहरूमा उल्लेख छ।
दीपेन्द्रले कुनै चेतावनी बिना आफ्नै परिवारका सदस्यहरूमाथि अन्धाधुन्ध गोली प्रहार गर्दा घटनास्थलमै राजा वीरेन्द्र, रानी ऐश्वर्य, राजकुमारी श्रुती, राजकुमार निराजन, राजाका भाइ धीरेन्द्र, दिदीबहिनीहरू शान्ति सिंह, शारदा शाह, जयन्ती शाह र ज्वाइँ खड्गविक्रम शाहको मृत्यु भएको थियो।
गोली प्रहार गरेपछि युवराज दीपेन्द्रले आफैँलाई पनि गोली हानेको दाबी गरिएको थियो भने सैनिक अस्पतालमा कोमामै रहेका बेला राजा घोषणा गरिएका उनको घटनाको तीन दिनपछि जेठ २२ गते निधन भएको थियो।
घटनापछि देशव्यापी रूपमा फैलिएको आक्रोश, भ्रम, अशान्ति र शोकलाई शान्त पार्न तत्कालीन नवघोषित राजा ज्ञानेन्द्र शाहद्वारा तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय र प्रतिनिधि सभाका सभामुख तारानाथ रानाभाट सदस्य रहेको उच्चस्तरीय छानबिन समिति गठन गरिएको थियो।
समितिको प्रतिवेदनले युवराज दीपेन्द्र र उनका मातापिताबीच देवयानी राणासँगको विवाहको विषयलाई लिएर गम्भीर विवाद रहेको, घटना हुनुअघि उनले अत्यधिक मदिरा र विशेष लागूऔषध सेवन गरी मानसिक रूपमा असन्तुलित बनेको तथा आफ्नै कोठामा रहेका एम-१६, उजी र पिस्तोल जस्ता अत्याधुनिक स्वचालित हतियार प्रयोग गरेर परिवारको हत्या गरी अन्तमा आफैँलाई गोली हानेको मुख्य निष्कर्ष निकालेको थियो।
छानबिन समितिले आधिकारिक रूपमा युवराज दीपेन्द्रलाई नै दोषी ठहर गरेपनि आम नेपाली जनताले यो निष्कर्षलाई कहिल्यै पूर्ण रूपमा स्वीकार गर्न सकेनन् र आज २५ वर्ष पुग्दा समेत बहुसंख्यक जनताको मनमा संशय कायम छ।
हत्याकाण्डमा राजा वीरेन्द्रको सम्पूर्ण परिवार र उनका भाइबहिनीहरूको विनाश हुँदा त्यस दिन काठमाडौँ बाहिर पोखरामा रहेका ज्ञानेन्द्र शाहको परिवारका सदस्यहरू पारस शाह, श्रीमती कोमल शाह र छोरी प्रेरणा शाह सुरक्षित रहनु तथा दाहिने हाते भनिएका दीपेन्द्रको टाउकोको बायाँतर्फ गोली लागेको भेटिनु जस्ता विषयलाई अझै पनि ‘षड्यन्त्रको सिद्धान्त’ का रूपमा बहस गरिन्छ।
तत्कालीन समयमा मुलुकमा बढ्दै गएको माओवादी जनयुद्ध र राजा वीरेन्द्रले सेना परिचालन गर्न देखाएको अनिच्छाका कारण उनी आन्तरिक तथा बाह्य शक्तिको निशानामा परेको दाबी समेत तत्कालीन समयमा उठेको थियो।
नारायणहिटी राजदरबार हत्याकाण्ड केवल एउटा पारिवारिक त्रासदी मात्र नभएर नेपालको राजनीतिलाई मोड्ने सबैभन्दा ठूलो भूकम्प सावित भयो।
जनतामाझ निकै लोकप्रिय र उदार राजा वीरेन्द्रको अवसानपछि राजा बनेका ज्ञानेन्द्र शाहको महत्त्वाकांक्षा र राजनीतिक हस्तक्षेपले राजतन्त्रलाई जनताबाट झन् टाढा धकेलिदियो।
यसै घटनालाई राजनीतिक हतियार बनाउँदै तीव्र पारिएको माओवादी आन्दोलन र राजा ज्ञानेन्द्रको २०६१ माघ १९ को प्रत्यक्ष शासनविरुद्ध संसदका दलहरू र विद्रोही माओवादी एक ठाउँमा उभिएपछि वि.सं. २०६२/६३ को ऐतिहासिक दोस्रो जनआन्दोलन सफल भयो।
सोही आन्दोलनको जगमा वि.सं. २०६५ जेठ १५ गते बसेको संविधान सभाको पहिलो बैठकले २४० वर्ष पुरानो शाहवंशीय राजतन्त्रको अन्त्य गर्दै नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्यो।
आज वि.सं. २०८३ (सन् २०२६) मा आइपुग्दा राजतन्त्र समाप्त भई गणतन्त्र स्थापना भएको पनि डेढ दशकभन्दा बढी भइसकेको छ भने नारायणहिटी राजदरबार एउटा भव्य सङ्ग्रहालयमा परिणत भइसकेको छ।
राजनीतिक रूपमा देश धेरै अगाडि बढिसकेको र हालैका निर्वाचनहरूमा गणतन्त्रवादी र नयाँ राजनीतिक शक्तिहरूको उदयले नेपाली जनता अग्रगमनको पक्षमा रहेको स्पष्ट पारे पनि २५ वर्ष बितिसक्दा समेत यस हत्याकाण्डको वास्तविक सत्य के थियो भन्ने प्रश्नको चित्तबुझ्दो जवाफ इतिहासले पाउन सकेको छैन।
विभिन्न समयमा गठन भएका सरकारहरूले पुनः निष्पक्ष छानबिन गर्ने आश्वासन दिए पनि हालसम्म कुनै ठोस कदम नचालिएकाले जेठ १९ को त्यो रक्तपातपूर्ण रातको पूर्ण सत्य सधैँका लागि नारायणहिटीको पर्खालभित्रै दफन भएको प्रतीत हुन्छ।















Facebook Comment