कांग्रेसले संसदीय समितिका बैठकहरू बहिष्कार गर्ने
काठमाडौं । नेपाली कांग्रेसले संसदको अवरोधलाई थप कडा बनाउँदै आगामी जेठ २५ गतेसम्म सबै संसदीय समितिहरूका बैठक समेत बहिष्कार गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री बालेन शाहले प्रतिनिधि सभामा दिएको अभिव्यक्तिलाई लिएर सदनमा माफी नमागुञ्जेल कांग्रेसले समितिका बैठकहरूमा सहभागी नहुने रणनीति अपनाएको हो। कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्रीको आत्मालोचना नआएसम्म विरोध जारी रहने जानकारी दिए।
गत आइतबार प्रतिनिधि सभाको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री शाहले “नेपालले पनि भारतको भूमि मिचेको रहेछ” भन्ने अभिव्यक्ति दिएका थिए। राष्ट्रिय सार्वभौमिकतासँग जोडिएको विषयमा प्रधानमन्त्रीबाट यस्तो गैरजिम्मेवार अभिव्यक्ति आएको भन्दै कांग्रेसले सदन अवरुद्ध गर्दै आएको छ।
यसका साथै, सांसदहरूलाई कानुनभन्दा माथि राख्ने गरी प्रतिनिधि सभा नियमावली जबर्जस्ती पारित गरिएको विषयमा पनि कांग्रेसले कडा आपत्ति जनाएको छ। सरकारको कार्यशैली र प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधस्वरूप कांग्रेसले अब संसदसँगै संसदीय समितिका कामकारबाही पनि ठप्प पार्ने चेतावनी दिएको छ।







डिसी नेपाल







Facebook Comment