राप्रपाले वैधानिकता गुमायो, लिङ्देनको कार्यशैलीले पार्टी संकटमा : धवलशमशेर राणा

डिसी नेपाल
२० जेठ २०८३ १६:५४

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका नेता डा. धवलशमशेर राणाले अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको वर्तमान केन्द्रीय कार्यसमितिले आफ्नो वैधानिकता गुमाइसकेको दाबी गरेका छन्।

एक अपील जारी गर्दै डा. राणाले पार्टी विधानअनुसार थपिएको ६ महिनाको समयसीमा समेत गत जेठ १९ गते समाप्त भइसकेकाले राप्रपा गम्भीर वैधानिक सङ्कटमा परेको उल्लेख गरेका हुन्।

डा. राणाका अनुसार राप्रपाको एकता महाधिवेशनबाट निर्वाचित कार्यसमितिको नियमित कार्यकाल गत मंसिरमै समाप्त भइसकेको थियो। त्यसपछि उपाध्यक्ष हेमजंग गुरुङको संयोजकत्वमा गठित महाधिवेशन सुझाव समितिले निर्वाचन ढिला भए मंसिरमा र चाँडो भए जेठ महिनाभित्रै महाधिवेशन गर्न सुझाव दिएको थियो। सोही सुझावका आधारमा केन्द्रीय समितिले ६ महिनाको म्याद थप गरे पनि उक्त अवधि जेठ १९ गते नै पूरा भइसकेको राणाको जिकिर छ।

नेता राणाले अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीका कारण पार्टीले आफ्नो साख गुमाउँदै गएको गम्भीर आरोप समेत लगाएका छन्। “महाधिवेशनको तालिका तयार पार्ने जिम्मा मलाई दिइएको र म जिम्मेवारीबाट पन्छिएको भन्ने अध्यक्षको अभिव्यक्ति हास्यास्पद र दुष्प्रचारपूर्ण छ,” राणाले अपीलमा भनेका छन्, “आफ्नो कमजोरी अरूको थाप्लोमा हालेर चोखो बन्ने गैरजिम्मेवारीपूर्ण शैलीले पार्टीको वैचारिक मूल्य–मान्यता धरापमा परेको छ।”

नेतृत्वको अकर्मण्यताकै कारण पार्टीका नेता-कार्यकर्ताहरूले धमाधम राप्रपा छोडिरहेको र दलभित्र विश्वासको सङ्कट चुलिएको राणाले बताएका छन्। उनले अध्यक्षको ‘भ्रमपूर्ण शब्दजाल’ मा नपर्न आम कार्यकर्ताहरूलाई आग्रह गर्दै, अब सम्पूर्ण राष्ट्रवादी शक्ति र मनहरू मिलेर नयाँ अभियानमा जुट्नुपर्ने आवश्यकता औँल्याएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *