खेलकुद राष्ट्रिय एकता र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारको बलियो माध्यम हो : राष्ट्रपति पौडेल
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट आपसी मित्रता, भाइचारा र सम्बन्ध सुदृढ गर्दै राष्ट्रिय एकताको भावना तथा अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा पनि महत्वपूर्ण योगदान पुग्ने बताएका छन्।
राष्ट्रिय खेलकुद परिषदद्धारा बुधबार आयोजित १६औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले वर्तमान युगमा खेलकुद केवल प्रतिस्पर्धा, पेशा, प्रख्याती र पहिचानका लागि मात्र सीमित नभएको स्पष्ट पारे। उनले भने, ‘यो व्यक्तिको सर्वाङ्गिण विकासको सशक्त माध्यम हो। अनि अनुशासन, सहकार्य नेतृत्व, आत्मविश्वास र राष्ट्रिय एकताको जग र आधार पनि हो।’
खेलकुद परम्परागत मनोरञ्जनको दायराबाट माथि उठेर आज यो आकर्षक पेशा र राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यम पनि बनेको राष्ट्रपति पौडेलको भनाई थियो। उनले भने, ‘खेलकुदको यो विशिष्ट महत्व र विशेषतालाई मध्यनजर गरेर गुणस्तरीय शिक्षाका साथसाथै विद्यालयतहदेखि नै खेल प्रतिस्पर्धा, कार्यक्रम र गतिविधि बढाएर खेलप्रति आकर्षित र प्रोत्साहन गर्न सरकारले विशेष नीति र कार्यक्रम बनाउनुपर्दछ। खेल क्षेत्रसँग सम्बन्धित व्यक्ति, निकाय र सरोकारवालाले पनि यसतर्फ विशेष ध्यान दिन आवश्यक छ।’
राष्ट्रपति पौडेलले आज नेपालमा खेलप्रतिको क्रेज बढ्दै गएको उल्लेख गर्दै खेलसँगै खेल प्रतियोगितमा मेरो भविष्य सुरक्षित छ भन्ने भावना जागृत गर्न राज्यले पनि यसलाई प्राथमिकता दिनुपर्ने बताए।
उनले भने, ‘विद्यालयतहदेखि नै खेल र शिक्षासँगको अन्तरसम्बन्ध र महत्वलाई एकसाथ अघि बढाउँदै खेल संस्कृतिको विकास र विस्तारका लागि यस्ता प्रतियोगितालाई संघ, प्रदेश र स्थानीयस्तरमा सञ्चालन गर्न कञ्जुस्याई गर्न हुँदैन।’
उनले जीत र हार खेलको स्वभाविक पक्ष भएपनि खेलकुदका प्रतियोगितमा सहभागिता, निरन्तर अभ्यास एवम् प्रयास, सिकाई र अनुभव नै महत्वपूर्ण उपलब्धि भएको बताए।







डिसी नेपाल







Facebook Comment